citizens life insurance long ad
stcnepal long ad
national life

साउनमा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात

Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक रूपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार (भारु) आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्ष अघिसम्म वर्षा याममा दैनिक ८÷९ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ बेहोर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षा यामका महिनाहरूमा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताउनुभयो ।

प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने आउने गरे तापनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नु पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो,‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरू अभियानकै रूपमा कार्यान्वयनमा लगिएको छ, आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बङ्गलादेशलाई निर्यात गरिने छ ।’

घिसिङले वर्षा याममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवम् नेपाल र भारतबिचको व्यापार घाटा कम गर्नसमेत सकारात्मक योगदान पुगिरहेको उल्लेख गर्नुभयो ।

‘हिउँद याममा केही महिना अझै विद्युत् आयात गर्नु परेतापनि आयातको परिमाण क्रमश ः घट्दै जाने छ, गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं,’उहाँले भन्नुभयो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि– एनभिभिएनलाई बिक्री गरिरहेको छ ।

एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

केही दिनअघि द्विपक्षीय सम्झौता बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो ।

यसमध्ये एनभिभिएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट बिक्री गरिने छ । हाल दुई आयोजनाहरूबाट उत्पादित १०९.६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।

१० जलविद्युत आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसि, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ ।

बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु गरिने छ ।

हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आइएक्समा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भई नसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रूपमा ६९०।५० मेगावाट विद्युत् निर्यात भइरहेको छ ।

स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।

गत  आर्थिक वर्ष मा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो ।

गत  आर्थिक वर्ष मा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

himalayan life insurance
igi long