औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको अभियोगमा पक्राउ
सुनसरी । औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको अभियोगमा धरान उपमहानगरपालिका-७ भानुचोकबाट विभिन्न औषधि सहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुमन मेडिकल हलका संचालक बिनय कुमार गुरुङ, सोही उपमहानगरपालिका-१० बस्ने सम्यक श्रेष्ठ, सोही उपमहानगरपालिका-१५ बस्नेहरु सहबाज सिद्धिकी, अमिर नेपाली र अर्जुन बराईली रहेका छन् ।
उनीहरुमध्ये गुरुङ विक्रता र अन्य ४ जना खरिद गरी सेवन कर्ता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उक्त मेडिकलमा औषधिको अनुचित बिक्री वितरण गरेको भन्ने सूचना आधारमा औषधि व्यवस्था बिभाग विराटनगरको समन्वयमा खटिएको प्रहरीले सुमन मेडिकल हलबाट DECOLIC ४ सय ट्याब्लेट,PREGSTAR-M १ सय २० ट्याब्लेट र APABALIN ३ सय ४० ट्बालेट बरामद भएको छ । साथै उक्त मेडिकलबाट खरिद गरी लैजादै गरेको अवस्थामा श्रेष्ठ लगायत ४जनाको साथबाट DECOLIC १० ट्याब्लेट,PREGSTAR-M ५ ट्याब्लेट र APABALIN १५ समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई थपअनुसन्धान तथा कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको छ ।


























