५ स्थानमा आकाशेपुल बनाउने तयारी ललितपुर महानगरपालिका
ललितपुर । ललितपुर महानगरपालिका भित्रका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनको मस्यौदामाथि छलफल शुरु भएको छ । ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले सो निर्माणका लागि अध्ययन गर्ने भएको हो ।
ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, एकान्तकुना र पुल्चोकदेखि कुपण्डोल वाग्मती पुल जाने स्थानमा फ्लाइओभर निर्माण गरिने योजना अघि बढाइएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए ।
महर्जनले “हामीले चक्रपथका चार ठाउँ र वाग्मती पुलसम्म फ्लाइओभर निर्माण सम्भाव्यता अध्ययनको जिम्मा ग्रीड जेभीलाई दिएका छौं । महानगरपालिकाभित्र फ्लाइओभर निर्माण हुनु एक गौरवको कुरा हो ।”
अध्ययनकर्ताबाट सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आएपछि सडक विभागसँग छलफल गरेर छिट्टै काम अघि बढाइनेछ । आकाशेपुल निर्माणले सडक दुर्घटना न्यूनीकरण र भद्रगोल ट्राफिक व्यवस्थापन गर्न सहज हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।
महर्जनले ‘महानगरपालिकाले फ्लाइओभर गाइड लाइन समेत तयार पारेको छ । यो गाइड लाइन नेपालमा बनेको पहिलो गाइड लाइन हो ।’




























