किमाथांका नाका जेठ १२ गतेदेखि खुला हुने

संखुवासभा। उत्तरी क्षेत्र चीनसँग जोडिएको संखुवासभाको किमाथांका नाका खुला हुने भएको छ। कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो।
उत्तरी क्षेत्र चीनसँग जोडिएको संखुवासभाको किमाथांका नाका जेठ १२ गतेदेखि खुल्ने भएको हो। त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ।
यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए। विराटनगरको रानी भन्सार नाका हुँदै संखुवासभाको किमाथांकासम्म पुग्ने बाटोलाई चीन(भारत जोड्ने छोटो मार्गका रुपमा लिइन्छ।
उत्तरी क्षेत्रमा वि.सं २०३५ मा किमाथांका भन्सार कार्यालय स्थापना भएको थियो। तत्कालीन द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार वि.सं २०५७ देखि सदरमुकाम खाँदबारी रहेको छ।
उत्तरी क्षेत्रको किमाथांका नाका यही जेठ १२ गतेदेखि खुल्न भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।
भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरण सकिएको अध्यक्ष भोटेले बताए। चीन सरकारले वुहानमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको किमाथांका नाका खुलेको छैन।
लामो समयदेखि बन्द रहेको किमाथांका नाका जेठ १२ गते खुल्ने संखुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले बताए। उनका अनुसार परराष्ट्र मन्त्रालयको पत्र गृह मन्त्रालयमार्फत किमाथांका नाका खुल्ने जानकारी प्राप्त भएको पुष्टि गरे।
सरकारको पटक पटकको आग्रहपछि चीन सरकारको औपचारिक रुपमा नाका खुलाउन लागेको हो। किमाथांका बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो।
भोटखोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब एक सय ६२ किलोमिटर टाढा पर्दछ। किमाथांका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए।
करिब छ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन। किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदाम लगायत गाउँका लागि चामल लगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो।