stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त

सीतापाइलामा खुल्यो कार्यालय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय खुलेको छ । नेपालका लागि किर्गिजस्तानका गैरआवासीय राजदूत अस्कर बेसिमोभ(Askar Beshimov) ले बुधबार उक्त कार्यालयको उद्घाटन तथा कार्यालय परिसरमा किर्गिज गणतन्त्रको झण्डत्तोलन गर्नुभयो ।

किर्गिज सरकारले प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मालाई नेपालका लागि अवैतनिक वाणिज्य दूत नियुक्त गरेपछि वाणिज्य दूतको कार्यालय खुलेको हो ।

बुधबार साँझ किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालयले काठमाडौंमा एक रिसेप्सन कार्यक्रम समेत आयोजना गरेको थियो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको उक्त कार्यक्रममा शहरी विकासमन्त्री धनबहादुर बूढा, विभिन्न कूटनीतिक नियोगकमा अधिकारी, अन्य मुलुकका वाणिज्य दूत, परराष्ट्र मन्त्रालयका पूर्व एवं बहालवाला अधिकारी लगायतको उपस्थिति थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा अवैतनिक किर्गिज वाणिज्य दूत नियुक्ति र वाणिज्य दूतको कार्यालय स्थापनालाई दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध विस्तारमा नयाँ थालनी भन्नुभयो ।

दुवै मुलुक जलवायु परिवर्तनका जोखिमबाट असुरक्षित रहेकोले यो लगायत अन्य साझा हितको क्षेत्रमा सहकार्य गर्न सकिने भन्दै उहाँले यसमा नेपाल सरकार सधैं तत्पर रहेको बताउनुभयो ।

नेपालका लागि किर्गिज गणतन्त्रका गैरआवासीय राजदूत बेसिमोभले दुई मुलुकबीचको सुमधुर सम्बन्ध तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्दर्भमा यो महत्वपूर्ण कदम भएको बताउनुभयो ।

किर्गिज गणतन्त्रका नवनियुक्त अवैतनिक वाणिज्य दूत रमेश शर्माले आफूलाई विश्वास गरेकोमा किर्गिज सरकारलाई र उक्त नियुक्तिलाई अनुमोदन गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । दुई मुलुकबीचको समानताले आपसी सहकार्यका अवसर प्रदान गर्ने भन्दै उहाँले द्विपक्षीय व्यापार र लगानीमा सहकार्य गर्न सकिने ठूलो सम्भावना रहेको बताउनुभयो ।

उहाँले किर्गिज गणतन्त्रमा नेपाली वस्तुको निकासी बढाउन किर्गिज सरकाबाट सहयोग प्राप्त हुने विश्वास गर्दै मित्रराष्ट्र किर्गिज गणतन्त्रका लागि नेपाल श्रमिक आपूर्तिको भरपर्दो स्रोत हुनसक्ने पनि उल्लेख गर्नुभयो । आपसी हितका काममा सक्रिय रहने प्रतिबद्धता पनि शर्माले व्यक्त गर्नुभयो ।
किर्गिजस्तान पनि नेपाल जस्तै भूपरिवेष्ठित मुलुक हो ।

यसको पूर्वमा चीन उत्तरमा कजाखस्तान, दक्षिणपश्चिममा ताजिकिस्तान र पश्चिममा उज्बेकिस्तान छ । सोभियत संघको पतनसँगै सन् १९९१ मा किर्गिजस्तान स्वतन्त्र भएको थियो । नेपाल र किर्गिज गणतन्त्रबीच सन् १९९३ मा दौत्य सम्बन्ध स्थापना भएको हो ।

किर्गिजस्तान जलविद्युत्, सुन, रियर अर्थ धातु, कोइला, तेल, प्राकृतिक ग्यास लगायत प्राकृतिक स्रोतमा सम्पन्न मुलुक हो ।

 

prabhu mahalaxmi
kumari