stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन,आमाप्रति श्रद्धा भक्तिभाव प्रकट गरी मनाइँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज वैशाख २६ गते बुधवार मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ ।

मातातीर्थ औँशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।

मातातीर्थ औँशीका दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मीठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा काठमाडौं चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा ठूलो मेला लाग्छ । माता तिर्थ औँशीको अवसर पारेर आज चन्द्रगिरी नगरपालिकाले सार्वजनिक विदा नै दिएको छ ।

आमाको लागि मीठा परिकार किन्नेहरुको चापले गर्दा आज मिठाई तथा फलफूल पसलहरुमा भीड हुने गर्दछ । आजको दिन आमालाई मीठा खानेकुरा खुवाउनको लागि धेरै जना घर तथा माइत जाने क्रम पनि बिहानैदेखि चलिरहेको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राममार्फत पनि धेरैले आमाप्रति सम्मान व्यक्त गरिरहेका छन् ।

मातातीर्थ औँशीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् ।

जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनः अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशः हराउँदै गए ।

ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंशी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे ।

हरेक वर्ष उक्त औंशीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो ।

यसरी हरेक वर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।

आमा, जसले आफ्ना सन्तानहरुलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन्, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन् ।

देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन १

prabhu mahalaxmi
kumari bank
kumari