stcnepal long ad
global ime bank long

कतारी अमिर अलथानी वैशाख १२ देखि नेपालको दुईदिने भ्रमणमा आउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कतारी अमिरबाट पहिलो पटक नेपाल भ्रमण हुन लागेको हो । यसअघि गत कात्तिक २०–२१ मा उनी आउने तय भए पनि इजरायल–हमास युद्धका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरिसकेको छैन । नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालका लागि कतारी राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीसँग श्रम सम्झौता गर्न नेपाल तयार रहेको सन्देश दिएका छन् ।

सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले १९ वर्ष अगाडि भएको श्रम सम्झौता परिमार्जन गर्न आवश्यक रहेको बताए । ‘धेरै वस्तुस्थिति बदलिइसकेको छ ।

अहिलेको परिवेशअनुसार सम्झौता गर्न आवश्यक देखिएको छ,’ श्रम प्रवक्ता गोविन्द रिजालले कान्तिपुरसँग भने, ‘यही विषय श्रममन्त्रीले राजदूतसमक्ष प्रस्ताव गर्नुभयो ।’

नेपालले सन् २०१७ देखि नै श्रम सम्झौता परिमार्जन गर्न चाहेको हो । यसका लागि दुई देशका उच्च श्रम अधिकारीबीच पटकपटक संयुक्त प्राविधिक समितिको बैठकसमेत बसिसकेको छ । कतारले पछिल्लो समय कफला प्रणाली (स्पोन्सरसिप सिस्टम) लाई सुधार गरी श्रम बजारको नीति–नियम लचिलो बनाएको छ ।

आप्रवासी कामदारले कतार छोड्न चाहिने ख्रुज )एक्जिट परमिट) हटाइसकेको छ । कतारमा ३ लाख ६७ हजार ३ सय ८९ नेपाली श्रमिक छन्, जसमध्ये पुरुषको संख्या ३ लाख ५१ हजार ८ सय ३४ छ भने महिला १५ हजार ५ सय ५५ छन् ।

श्रम प्रवक्ता रिजालले अमिरको भ्रमणमा श्रम सम्झौता टुंग्याउन चाहेको बताए । ‘हामी अहिले छलफलमा छौं । तर सम्झौतामा हस्ताक्षर हुने निर्णयमा पुगिसकेको छैनौं,’ रिजालले भने ।

नयाँ श्रम सम्झौताको मस्यौदामा परराष्ट्र, अर्थ र कानुन मन्त्रालयले सुझाव दिइसकेका छन् । नेपालले ती सुझाव कतार सरकारलाई पठाइसकेको छ ।

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले श्रम सम्झौता गर्न कतार सकारात्मक रहेको बताए । ‘नेपालका लागि कतार प्रमुख गन्तव्य देश हो ।

यो भ्रमणमा श्रम सम्झौता गर्न दुवै पक्ष सकारात्मक छ । तर, हामीसँग समय निकै कम छ,’ उनले भने, ‘यदि यही भ्रमणमा भएन भने यथाशक्य छिटो गर्न बाटो खुल्नेछ ।’

राजदूतसँगको भेटमा श्रममन्त्री अर्यालले सीपयुक्त जनशक्ति उत्पादनको विकासमा कतारको सहयोगको अपेक्षा राखेका छन् । ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन चाहन्छौं ।

त्यसैले श्रमिकको सीप विकासमा तपाईहरूको सहयोग अपेक्षा गर्छौं,’ मन्त्रीले कतारी राजदूतसमक्ष भने । उनले कतारमा कार्यरत नेपाली श्रमिकलाई अन्य श्रमिकसरह नै व्यवहार गर्नेमा आफू ढुक्क रहेको पनि बताए ।

‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रम अभ्यास गरेको छ, जुन प्रशंसनीय छ,’ उनले भने । कतारी राजदूत अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताउँदै नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न सधैं तयार रहेको बताए ।

IME Lifesidebar
kumari