नेपाल टेलिकमको कपर प्रविधि बन्द, सबै सेवा अब एफटीटीएचमा
काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरूमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पीएसटीएन) सेवालाई फाइबर टू दी होम(एफटीटीएच)प्रविधिमा स्तरोन्नति गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल०ले कपर प्रविधिको टेलिफोन सेवाको स्विच अफ गरी सो सेवा बन्द गरेकी हुन् ।
कपर प्रविधिबाट वितरित टेलिफोन तथा एसडीएसएल लाइनहरू पूर्णरुपमा आधुनिक फाइबर प्रविधिको एफटीटीएच नेटवर्कमा माइग्रेसन सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रबन्ध निर्देशक अर्यालले टेलिकम क्षेत्रमा प्रविधि रूपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको मागअनुरूप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रूपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् ।
एफटीटीएचमा माइग्रेसन भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवासमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।