stcnepal long ad
ime life insurance
national life
global ime bank long

पाँच हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ आयोजनाको अध्ययन गरिरहेको छ ।

यस्तै, एक सय मेगावाटभन्दा कम क्षमताका विभिन्न १२ आयोजनाको पनि अध्ययन गरिरहेको छ । अध्ययनमा रहेका आयोजनालाई शीघ्र काम सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

विभागले एक हजार सात सय २० मेगावाट क्षमताको खिम्ती ठोसे शिवालय जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । सो आयोजना रामेछाप र दोलखा भएर बहने खिम्ती नदीमा निर्माण हुनेछ । पर्वत र बाग्लुङको सिमाना भएर बहने कालीगण्डकी नदीमा निर्माण हुने आठ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन जारी छ ।

विभागका अनुसार पाँच सय १२ मेगावाट क्षमताको बुरबाङ्ग, एक सय १० मेगावाट क्षमताको कोखाजोर जलाशयुक्त आयोजना, नौ सय १६ मेगावाट क्षमताको हुम्ला कर्णाली क्यास्केड, सात सय मेगावाट क्षमताको कालीगण्डकी दोस्रो, तीन सय ५० मेगावाट क्षमताको तल्लो बडीगाड र एक सय १५ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको पनि अध्ययन अन्तिम चरणमा पुगेको छ ।

ती आयोजनाको कूल क्षमता पाँच हजार दुई सय ६७ मेगावाट छ । सरकारले अध्ययन गरिरहेका यी आयोजनालाई तत्काल आवश्यक प्रक्रिया पूरा गर्न जोडबल लगाएको छ । त्यसका लागि आवश्यक मार्गदर्शन एवं सहजीकरण गर्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले अध्ययनमा रहेका ती आयोजनाको शीघ्र काम सम्पन्न गर्न विभागका महानिर्देशक चिरञ्जीवी चटौतलगायत उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

लामो समयसम्म आयोजना अध्ययनमा मात्रै सीमित रहने प्रवृत्तिको पनि अन्त्य गरिनुपर्नेमा जोड दिँदै उहाँले  भन्नुभयो, “सबै  तयारी समयमै सकिनुपर्छ । त्यसो भए मात्रै अपेक्षित लाभ हासिल गर्न सकिन्छ ।”

विभागले ५३ मेगावाट क्षमताको माथिल्लो चमेलिया, ६२ मेगावाट क्षमताको हुम्ला कर्णाली, ६० मेगावाटको यान्मा खोलाको अध्ययन गरिरहेको छ ।

त्यसैगरी, मध्य इन्खु २५, कवाडी खोला एक १६, हिमा खोला छ दशमलब सात, डाँडागाउँ खलङ्गा भेरी ८०, टोम डोगर ४३ मेगावाट क्षमताको आयोजना अध्ययनको चरणमा छ ।

तिला ४३, मस्र्याङ्दी तेस्रो ४१, सुपर बूढीगण्डकी ३४ र अपर होङ्गु ३२ मेगावाट क्षमताको आयोजना अध्ययनका क्रममा छ । ती आयोजनाको कूल क्षमता चार सय ९६ मेगावाट बराबर छ ।

विभागले २३ जलविद्युत् आयोजनाको भने सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न गरिसकेको छ । आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट क्षमता बराबर विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण भएको छ । सो लक्ष्यअनुसार विद्युत् उत्पादनका लागि पनि अध्ययनको काम सम्पन्न गरी आयोजना निर्माणको तयारी गर्नु जरुरी भइसकेको छ ।

मुलुकभित्र निर्माणमा रहेका, निर्माणमा जाने तयारीमा रहेका अधिकांश आयोजना नदी प्रवाही प्रकृतिका छन् । जलाशययुक्त आयोजनाको अभावमा बढी बिजुली माग हुने हिउँदको समयमा विद्युत् आपूर्तिमा सधैँ समस्या पैदा हुने गरेको छ ।

यो तथ्यलाई मनन गरेर सरकारले पछिल्ला दिनमा अर्धजलाशय र जलाशय प्रकृतिका आयोजनालाई विशेष प्राथमिकतामा राखेको छ ।

IME Lifesidebar
kumari