citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

अनुगमन प्रभावकारी नभएसम्म भिन्नता आउँदैन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । सरकारको भ्रमण भिसामा विदेश प्रस्थानसम्बन्धी नयाँ कार्यविधि तुलनात्मक रूपमा केही राम्रो भए पनि उल्लेख्य भिन्नता भने नपर्ने प्रतिक्रिया सरोकारवालाले दिएका छन् ।

बुधबारदेखि लागु हुने गरी गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले जारी गरेको नयाँ कार्यविधि पहिलेको तुलनामा केही सर्तमा लचिलो व्यवस्था गरिए पनि यसको अनुगमन प्रभावकारी नभएसम्म भिन्नता नआउने प्रतिक्रिया सरोकारवालाबाट आएको हो ।

त्यसो सरकारले भ्रमणमा भिसामा विदेश गएर श्रम भिसामा कन्भर्ट गर्ने र विदेशमा जोखिममा पर्ने गरेका धेरै समस्या आएपछि तत्कालीन सचिव एकनारायण पाठकले सर्त लगाएर भ्रमण भिसामा विदेश जानेलाई कडाइ गर्नुभएको थियो । सर्त कडा गरे पनि जाने व्यक्तिले नकक्ली कागजात बनाएर जाने क्रम रोकिएन ।

यसले झनै जोखिम बढायो । यस्ता सर्तले भ्रमण भिसामा विदेश जानेलाई समेत समस्या भएको भनेर चौतर्फी आचोचना पनि भयो, अहिले यसलाई केही लचिलो बनाइएको छ । सरकारवालाले भने भ्रमण भिसा लचिलो गरे पनि यसमा जोखिम कायमै रहेको बताउँदै आएका छन् ।

कूटनीतिक तथा श्रमका जानकार रामेश्वर नेपालले पछिल्लो समयमा भ्रमण भिसामा विदेश प्रस्थान गरी श्रम भिसामा कन्भर्ट गरेर काम गर्ने सङ्ख्या धेरै भएकाले भ्रमण भिसामा विदेश प्रस्थान गर्नेसम्बन्धी नयाँ कार्यविधिले त्यस्ता वर्गलाई समेट्न सक्ने अवस्था नदेखिएको टिप्र्पणी गर्नुभयो ।

नयाँ कार्यविधि विगतको तुलनामा केही लचिलो भएकाले थोरै सहज भए पनि परिणाममा उल्लेख्य भिन्नता भने नआउने उहाँको भनाइ छ ।

भ्रमण भिसामा विदेश गएर भिसा श्रम कन्भर्ट गर्ने व्यवस्थालाई स्वदेशबाट नियन्त्रण गर्न अनुगमन प्रभावकारी हुनु पर्‍यो, त्यो नदेखिएको बताउँदै नेपालले भन्नुभयो, “भ्रमण भिसामा विदेश जाने सर्त अप्ठ्यारा राखेर, नक्कली कागजात बनाएर कर्मचारी र बिचौलियाको सेटिङमा अनौपचारिक श्रमिक विदेश पठाउने तर साँच्चै भ्रमण भिसामा विदेश जानेलाई समस्या पार्ने गरिएको छ, यो नयाँ कार्यविधिले पनि अन्त्य गर्न सकेको छैन ।”

उहाँले भ्रमण भिसामा विदेश जान लागेका र भ्रमण भिसामा विदेश गएर काम गर्न जान लागेका व्यक्ति छुट्याउन नसक्नु सरकारको ठुलो कमजोरी भएको टिप्पणी गर्नुभयो ।

“भ्रमण भिसामा विदेश प्रस्थान गर्ने नीतिलाई जतिसक्दो सरल बनाएर पठाउने र सम्बन्धित गन्तव्य देशसँग दुवै पक्षका तर्फबाट कूटनीतिक पहलमार्फत काम गर्न सकेमा मात्रै परिणाममा पुग्न सकिने अन्यथा अहिलेको कार्यविधिबाट ठुलो अपेक्षा गर्न सकिँदैन,” उहाँले थप्नुभयो ।

वैदेशिक रोजगारीमा गएका श्रमिकको पक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्ता सोम लुइटेलले भ्रमण भिसामा विदेश प्रस्थान सम्बन्धी नयाँ कार्यविधि आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको तर यसको अनुगमन  प्रभावकारी भएन भने  हाम्रा श्रमिक जोखिममा पर्न सक्ने खतरा कायमै रहेको तर्क गर्नुभयो ।

उहाँले भ्रमण भिसामा विदेश गएर यसलाई दुरुपयोग गर्नेको नियमन र अनुगमन गर्ने अधिकार सरकारको भएकाले यसलाई प्रभावकारी अनुगमनको आवश्यकता औँल्याउनुभयो । “भ्रमण भिसामा विदेश गएकालाई गन्तव्य देशले श्रम भिसा कन्भर्ट गरेर श्रममा लगाइरहेको छ भने त हाम्रो सरकारको कूटनीति कमजोरी हो,” उहाँले भन्नुभयो, “यस विषयमा सम्बन्धित गन्तव्य देशसँग हाम्रो सरकारले कूटनीतिज्ञ मार्फत छलफल गरेर यस्ता समस्या समाधान गर्नु पर्छ ।”

खाडीका संयुक्त अरब इमिरेटस् ९युएई०, साउदी अरब, कतार, कुवेत, ओमान, बहराइनमा भ्रमण भिसालाई श्रम भिसा कन्भर्ट गर्ने क्रम रहेको छ । ती देशमा घरेलु काममा भ्रमण भिसामार्फत नै ती देशमा नेपाली श्रमिक पुर्‍याउने गरिएको छ ।

भ्रमण भिसामा विदेश प्रस्थान गरेर श्रम भिसामा कन्भर्ट गरी काम गर्ने ठुलो सङ्ख्या संयुक्त अरब इमिरेटस् (युएई) मा रहेको छ । सरकारले झन्डै नौ वर्षदेखि घरेलु काममा खाडीमा जान रोक लगाउँदा नेपाली महिलालाई भ्रमण भिसामा युएई लगेर खाडीका अन्य देशमा पुर्‍याउने गरेको पाइन्छ । यसरी जानेको सङ्ख्या धेरै ठुलो छ तर त्यसको आधिकारिक तथ्याङ्क भने कसैसँग पनि छैन । नयाँ कार्यविधि अनुसार भ्रमण र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य हो ।

त्यसैले नयाँ कार्यविधि जारी गर्दै अध्यागमन विभागले श्रम गन्तव्य मुलुक कुवेत, ओमन, युएई र बहराइन जस्ता देशमा बिचौलियाको प्रभावमा महिलालाई भ्रमण वा पर्यटक भिसामा लगेर वर्किङ भिसामा परिणत गराउने, त्यस्तो कार्यबाट महिलालाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउने र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने जोखिम रहेकाले भ्रमण तथा पर्यटक भिसामा नगई वर्किङ भिसामा सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्न आग्रह गरेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले भ्रमण भिसासम्बन्धी लचिलो नीतिले खाडीका युएई, कुवेत, ओमान, बहराइनलगायतका देशमा घरेलु काममा श्रम भिसा कन्भर्ट गर्न सक्ने क्रम बढ्न सक्ने जोखिम रहेकाले यसको अनुगमनमा विशेष ध्यान दिनु पर्छ भन्नुभयो ।

नयाँ कार्यविधि अनुसार कम्तीमा छ महिनाको वैध अवधि भएको, गन्तव्य देशको प्रवेषाज्ञा भिसा वा अन अराइभल भिसा हुनु, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, कम्तीमा पाँच सय डलर भएका व्यक्ति भ्रमण भिसामा विदेश जान पाइने अध्यागमनले जनाएको छ ।

संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन, साउदी अरबमा भ्रमण भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने नयाँ कार्यविधिमा उल्लेख छ । यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुन अनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने हुन्छ ।

यसअघि सचिवस्तरको निर्णयले भ्रमण भिसामा जान कडाइ गरेको थियो । जसमा खाडी मुलुकभन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्ति, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतीत गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरूले भ्रमण भिसामार्फत यात्रा गर्न पाइनेलगायतका कडा व्यवस्था गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ।

gold
himalayan life insurance long ad