विश्वभर रहेका नेपालीहरुको हक–अधिकार रक्षाको लागि सरकार प्रतिवद्ध छः प्रधानमन्त्री
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विश्वभर रहेका नेपालीहरुको हक अधिकार सुरक्षाका लागि प्रतिवद्ध रहेको बताउनु भएको छ ।
युगाण्डाको कम्पालामा नेपाली समूदायले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचंण्डले नेपालीहरुलाई आवश्यक पर्ने अनलाइन राहदानी, श्रम सम्झौता,भिजिट भिसाजस्ता विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ ।
विदेशमा लाखौंको संख्यामा रहेका नेपालीहरुको सुविधाका लागि नेपाल सरकार, विभिन्न राजनीतिक दल र अन्य सरोकारवालाहरुबीच विभिन्न चरणमा छलफल भैरहेको पनि उहाँले बताउनुभयो ।
त्यसबखत परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले विदेशमा रहेका नेपालीहरुले भोग्ने समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा युगान्डामा रहेका नेपाली समुदायले भोगेका विभिन्न समस्याहरु उल्लेख गर्दै तिनको समाधानको लागि सरकारको ध्यानाकर्षण गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन गणतन्त्र युगाण्डाको राजधानी कम्पाला पुग्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो कतार एअरलाइन्सबाट युगान्डाका लागि प्रस्थान गर्नुभएको हो । नाम सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौं आइपुग्नुहुने कार्यक्रम रहेको छ ।