नेपाल वायुसेवा निगमको नाफा १४४ प्रतिशतले बढयो
काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्वरभन्दा बढिले वृद्धि भएको छ । निगमले आज विज्ञप्ति जारी गर्दै गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि भएको जनाएको हो ।
महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा रु. ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा रु. १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ रहेको थियो।
त्यसैगरी आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ देखिएको छ। यसरी हेर्दा निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको छ।
विगत ८ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रिय उडान तर्फ ४ वटा र आन्तरिक उडानतर्फ २ वटा जहाज उडानमा रहेका छन्।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात उपलब्ध भएका जहाज तथा साधनस्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम विस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि हुने निगमले जनाएको छ।
हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको निगमले जनाएको छ।























