बाराको सिम्रौनगढमा तनाव : प्रहरीको गोलीबाट एक जनाको मृत्यु, १० जना प्रहरी घाइते
प्रहरी र नगरपालिकाका आन्दोलनरत कर्मचारीबीच झडप
बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय सिम्रौनगढ–१ का लक्ष्मी मुखिया बिन हुन । अर्का १ जना गम्भीर घाइते भएका छन् ।
सिम्रौनगढका एकजना स्थानीयको मृत्यु भएको स्थानीयलाई उद्दत गर्दै हाम्रा संवाददाता गुरु गौतमले जानकारी दिनुभएको छ ।
मृतकको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन । अर्का घाइते हरियरपुरका रहेको र उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा आन्दोलनरत कर्मचारीहरुले हाजिर गर्न नदिएपछि सुरु भएको विवादले भिडन्तको रुप लिएको थियो ।
विवाद बढ्दै गएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले हवाइ फायर गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।
प्रदर्शनकारीको आक्रमणबाट १० जना प्रहरी घाइते भएका बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
नगरपालिकाकामा कार्यरत स्थायी, करार र ज्यालादारी कर्मचारीहरुले लामो समयसम्म तलव नपाएपछि आन्दोलन गर्दै आएका थिए ।
आन्दोलनरत कर्मचारीहरुले वार्ता पछि मात्र कार्यकारी अधिकृतलाई हाजिर गराउनुपर्ने माग गरेका थिए ।
तर नगरप्रमुखले एकाएक कार्यकारी अधिकृतलाई हाजिर गराउन खोजेपछि भिडन्तको अवस्था आएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ।।