sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

अधिकांश उपभोग्य वस्तुको भाउ महँगियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुका भाउ महँगिएको हो ।

उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुसी मूल्य तोकेर बिक्री गरेका छन् । यता उपभोक्ता भने व्यापारीले जति भने पनि किन्न बाध्य भएका छन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिमलसिनाले सरकार, राजनीतिक दल, सुरक्षाकर्मी, नियमन कर्मचारी, पत्रकार सबै भूकम्प प्रभावित केन्द्रित भएको मौका छोपी व्यापारीले मनलाग्दी हरेक उपभोग्य वस्तुको भाउ बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो बेलामा सरकारका नियमनकारी निकायको अनुगमनलाई झन् चुस्त दुरुस्त बनाउनुपर्नेमा, बजारमा गुणस्तरहीन वस्तु, कालो बजारी मौलाएको छ, बजार मूल्य मात्रै नभएर गुणस्तरमा पनि त्यतिकै समस्या देखिएको छ ।”

नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्क अनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ । सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले पछिल्लो समयमा दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो पटक चिनी, दाल, गेडागुडी चामल मात्रै होइन, हरेक, वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी चाडपर्वकै असर हो ।”

सरकारले चाडपर्वलक्षित गरेर साल्ट टे«डिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत उपत्यकासहित देशका ८३ स्थानमा सहुलियत मूल्य सञ्चालन गर्दै आएको छ तर ती पसलमा पनि उपभोक्ताले सहज रूपमा सामान किन्न पाएका छैनन् । दुई केजी चिनी किन्नका लागि दिन मारेरै लाम बस्न बाध्य छन् ।

सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले नेपाली उद्योग र थोक बजारबाट नै मूल्य बढेर आएपछि खुद्रा व्यापारीसँग बढेको मूल्यमा नै सामान बेच्नुको विकल्प नभएको बताउनुुभयो ।

नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको सञ्चिति कम भएको देखाउँदै विभिन्न वस्तुको आयातमा रोक लगाउने निर्णय गरेपछि मूल्य वृद्धिमा थप सहयोग पुगेको व्यवसायीहरूले बताउने गरेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले विभागको छरसात वटा टोलीबाट नियमित अनुगमन भइरहेको जानकारी दिनुभयो ।

गएको सातादेखि नै विभागको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले तिहारलक्षित गरेर अनुगमन गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार विभाग नेतृत्वको अनुगमन टोलीले तिहारमा बढी खपत हुने तरकारी, फलफूल, भाँडाकुँडा, लत्ताकपडा, भाइमसला, विद्युतीय सामान खाद्यवस्तुमा केन्द्रित भएर अनुगमन गर्ने गरेको छ ।

विभागको नेतृत्वमा भएको अनुगमन टोलीले सोमबार कालीमाटीको भाँडा पसलको अनुगमनका क्रममा नापतौल, गुणस्तर र मूल्य ठगी गरेको पाइएपछि तीन लाख रुपियाँ जरिबाना गरिएको छ ।

विभागका अनुसार सोमबार विभागको टोलीले कालीमाटीको सहित २१ वटा विभिन्न वस्तुको अनुगमन गर्नुका साथै बानेश्वरको खाद्य पसल, कपडा पसललाई पनि क्रमशः ५० हजार र २० हजार रुपियाँ जरिबाना गरेको छ ।

prabhu bank
nawakantipur long