चाडपर्व सुरक्षित बनाउन प्रहरीको सक्रियता

हेटौँडा । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरीले रात्रिकालीन पैदल गस्ती सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडपर्वलक्षित सुरक्षा योजना अनुसार हेटौँडा बजारसहित मकवानपुरका विभिन्न स्थानमा रात्रिकालीन पदैल गस्ती सुरु गरिएको हो ।
चाडपर्वमा हुने अपराध, चोरीका घटना न्यूनीकरण गर्न पैदल गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
सार्वजनिक सवारीसाधनमा सिट क्षमता अनुसार यात्रु राख्न र तोकिएको मात्रै भाडा लिन अनुगमन एवं चोरीका घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको हो । चाडपर्वलक्षित सुरक्षा योजनामा जिल्लाभर ८१७ प्रहरी परिचालन गरिएको सो कार्यालयले जनाएको छ ।
यसै गरी प्रहरीले सुरक्षा जाँचमा कडाइ गरेको छ । इलाका प्रहरी कार्यालय र प्रहरी चौकी रातोमाटेको संयुक्त टोलीले तालिमप्राप्त कुकुरसहित नाकाको चेकजाँच गरिरहेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
चाडपर्वका बेला नाकामा भिड बढ्ने, लागुऔषध, अवैध कर छलीका सामग्री, पटकालगायतका विस्फोटक पदार्थ लुकाइछिपाई भिœयाउने कार्य बढ्ने भएकाले चेकजाँचमा तालिमप्राप्त कुकुर प्रयोग गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।
४ कात्तिक २०८०, शनिवार ०६:३४ बजे प्रकाशित