पोखरा महानगरपालिकाले ५ समूह बनाएर महानगरका १४ वडामा अनुगमन
पोखरा । दसैंको छेकोमा शुक्रबार पनि पोखरा महानगरपालिकाले अनुगमन गरेको छ। महानगरपालिकाले ५ समूह बनाएर महानगरका १४ वडामा अनुगमन गरेको हो।
६० वटा मासुु र खाद्यान्न पसलमा अनुुगमन गरेको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्। दसैंको बेलामा बढी मासु खपत हुने भएकाले उपभोक्ता हीतलाई ध्यानमा राखेर अनुगमन गरेको उनको भनाइ छ।
‘अनुुगमनका क्रममा पसल दर्ता/नवीकरण नगरेको, बहाल कर नतिरेको पाइयो’, उनले भनिन्, ‘अधिकांश मासु पसलमा सरसफाइमा ध्यानै पुगेको छैन।’
मापदण्ड पूरा नगरेका ३ पसललाई जरीवानासमेत गरिएको छ। २ मासु पसल र एक खाद्यान्न पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको हो।
पोखराको मोहमद फ्रेस हाउस, जमाल फ्रेस हाउस र सक्षम किराना स्टोर्सलाई ५र५ हजार रुपैयाँ जरीवाना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताए।
अनुुगमनका क्रममा पसल फोहोर र अब्यवस्थित, व्यवसाय दर्ता नगरेको, कुुखुरा, खसि, कालिज लगायत सबैको मासु एकै ठाउँमा राखेर बेचबिखन गरेको, बधशाला नभएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा (क), (ख), (ग) बमोजिम ५ हजार रुपैयाँ जरिवाना गरेको उनले जानकारी दिए।