तलब दिन नसकेपछि वीर अस्पतालका कर्मचारी हटाउन बाध्य भयौँ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका हुन् ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले कोभिड(१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकै पटक सेवाबाट हटाएको थियो ।
उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रूपमा रहेको भन्दै अब यो छिटै समाधान हुने बताए ।
उनले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलिएर बसेको भन्दै चाँडै नै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रक्रिया थालिने बताए ।
मन्त्री बस्नेतले देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य भएको बताए ।
मन्त्री बस्नेतले स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै यथाशीघ्र चिकित्सा शिक्षा ऐन संशोधन गरिने बताए ।
उनले संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवा जनतालाई निःशुल्क गर्ने भन्ने उल्लेख भएपनि कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागिरहेको बताए ।
२३ असोज २०८०, मंगलवार १५:३५ बजे प्रकाशित