चिनीको मूल्य अध्ययनका लागि समिति
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरी काम सुरु गरेको छ ।
पछिल्ला केही दिनयता बजारमा चिनीको भाउ अत्यधिक वृद्धि भएपछि विभागले चिनीको मूल्य अध्ययनका लागि समिति गठन गरेर काम सुरु गरेको हो ।
विभागका महानिर्देशक तीर्थराज चिलवाल चिनीको मूल्य अध्ययन गर्न गठित समितिले काम सुरु गरेकाले यही साताभित्र चिनीको मूल्य वृद्धि कुन तहमा भएको भन्ने कारणसहित आउने जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्ययन समितिले अध्ययनका क्रममा चिनीको उत्पादन लागत मूल्य, थोक मूल्य, खुद्रा मूल्यको विश्लेषण गरेर कुन तहमा भाउ महँगिएको हो सबै हेरेर प्रतिवेदन तयार गर्ने छ ।
सो समितिले नेपालमा उत्पादित चिनीको मात्रै नभएर आयात भएको चिनी कति लागतमा कुन भन्सारबाट कुन मितिमा भित्रियो भन्ने सबै विवरण उपलब्ध गराउने छ ।
यसबाहेक बजारमा चिनीको माग, आपूर्ति र उपलब्धता सबै यथार्थ तथ्याङ्क पनि प्रतिवेदनमा समावेश गरिने छ । अध्ययन समितिको प्रतिवेदन आएपछि बजारमा चिनी महँगो हुनेको वास्तविक अवस्था सबै जानकारी हुने विभागका महानिर्देशक चिलवालले जानकारी दिनुभयो ।
गुणस्तर परीक्षण गरिँदै
कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण र लेबल अस्पष्ट भएको ७० हजार केजी चिनीको नमुना लिई गुणस्तर परीक्षणका लागि पठाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा गठित संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा भेटेको उक्त चिनीको नमुना गुुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको हो ।
भण्डारण गरिएको चिनीको गुणस्तर शङ्कास्पद देखिएकाले चिनीको नमुना लिई गुणस्तर परीक्षण गर्न पठाइएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक चिलवालले गोदाम नै सिल गरिएकाले चिनी परीक्षणको प्रतिवेदन दु्रत प्रविधि प्रयोग गर्न आग्रह गरिएकाले अबको दुईरतीन दिनभित्र परीक्षण प्रतिवेदन आउने जानकारी दिनुभयो ।
विभाग नेतृत्वको संयुक्त अनुगमन टोलीले गएको बिहीबार कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको थियो ।
उक्त गोदाम नेपालका प्रख्यात चिनी व्यवसायी सन्तोष खेतानको भएको बताइएको जनाइएको छ । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले चिनीको अभाव देखाएर मूल्य वृद्धि भइरहेको अवस्थामा अनुगमन टोलीले कुलेश्वरमा ७० हजार चिनी गोदाममा भण्डारण गरिएको, चिनीको बोरामा उत्पादन मिति र मूल्य अस्पष्ट देखिएकाले अनुगमन टोलीले तत्काल गोदामको सिल गरेको जानकारी दिनुभयो ।
व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौँमा बिलबीजकबिना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो ।
विभागमा परेको उजुरीमा व्यवसायी खेतानले सो गोदाममा भण्डारण गरेको उक्त चिनी खुद्रा व्यापारीलाई बिक्री गर्दा प्रतिकेजी १०५ रुपियाँको बिल थमाएर १३० रुपियाँ लिने गरेको खुलेको छ । १५ दिनपहिले प्रतिकेजी एक सय रुपियाँदेखि १०५ रुपियाँमा खुद्रामा पाइने चिनी प्रतिकेजीको भाउ पहिले बढेर १५० रुपियाँसम्म बिक्री हुँदै आएको छ ।
काठमाडौँ उपत्यकामा चिनी बिक्रीमा खास व्यक्ति मानिएका खेतानको फर्मले नेपाली चिनी मिलबाट क्रसिङको समयमा सस्तोमा खरिद गरेका चिनी कृत्रिम भण्डारण गरेर चाडपर्वको मुखैमा महँगोमा बिक्री गर्ने गरेको पाइएको सरकारी अधिकारीको दाबी रहेको छ ।