macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

जडीबुटी सर्भिस लेन द्रुत बसलाई चुनौती

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सूर्यविनायक–रत्नपार्क सडकमा सञ्चालनमा ल्याइएको द्रुत बस सेवालाई कतिपय ठाउँका पूर्वाधार निर्माण पूरा नभएका कारण सवारी आवागमन अरू असहज बनेको छ। विशेष गरी माइतीघर–सूर्यविनायक छ लेन सडकको कोटेश्वर–जडीबुटी खण्डको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिण दुवैतिरको सर्भिस लेन नबन्दा उक्त सडकखण्डमा ट्राफिक समस्या झन् बढेको छ।

भएको मूल सडकलाई दायाँबायाँ दुवैतिर द्रुत बस सेवाका लागि रातो रङसहित छुट्याउँदा आम सवारीका लागि सडक नै अपुग हुन गएको हो। जसका कारण कोटेश्वरदेखि पूर्व र कौशलटारदेखि पश्चिमको सवारी आवागमन ज्यादै अस्तव्यस्त हुन थालेको छ।

सर्भिस लेन निर्माण हुन नसकेका कारण पहिलेदेखि नै सो ठाउँमा ट्राफिक समस्या थियो भने द्र्रुत बस सेवा सञ्चालनमा आएदेखि सो ठाउँको ट्राफिक व्यवस्थापन थप अस्तव्यस्त नै बनेको छ।

सरकारले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनमा ल्याएको हो। त्यसो गर्दा सो ठाउँको सम्भावित पूर्वाधारको तयारीमा ध्यानै नदिएकाले समस्या झन् चर्कोको छ।

माइतीघर–सूर्यविनायक छ लेनको सडक निर्माण भएको एक दशक पुग्न लाग्दा पनि सो ठाउँमा सर्भिस लेन निर्माण हुन सकेको छैन। जापानी सहयोग नियोग ९जाइका० को सहयोगमा २०६१ सालमा माइतीघर–सूर्यविनायक सडक छ लेनमा विस्तार भएको थियो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, काठमाडौँका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले सडकको क्षेत्रफल र सवारीसाधनको सङ्ख्या त्यति नै रहेको अवस्थामा द्रुत बस सेवा सञ्चालनका लागि लेन छुट्याई छुट्टै सवारीसाधन सञ्चालन गर्दा केही समस्या भएको बताउनुभयो तर व्यवस्थापन गर्नै नसक्ने भने नभएको दाबी उहाँको छ। जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर दक्षिणको सर्भिस लेन नबन्दा उक्त सडकखण्डमा ट्राफिक समस्या भने बढेको प्रवक्ता भट्टले बताउनुभयो।

प्रवक्ता भट्टले भन्नुभयो, “जडीबुटी चोकदेखि पूर्व मनोहरा खोलाको पुलसम्म मूल सडकका दायाँ र बायाँ सर्भिस लेन निर्माण भइदिए सो ठाउँबाट चल्ने केही सवारीसाधन सर्भिस लेन भएर पनि आवतजावत गर्थे र मुख्य सडकमा सवारीसाधनको चाप धेरै हदसम्म कम हुन सक्थ्यो तर लामो समयदेखि चर्चामा रहे पनि सो निर्माण हुन सकिरहेको छैन।”

सर्भिस लेन निर्माण नहुँदा मनोहरामा बनेको नयाँ पुल बस तथा मिनीबसका लागि निःशुल्क पार्किङ स्थल बनेको छ। समग्रमा भने यो बाटो नखुल्नुले ट्राफिक समस्या मात्र बढाएको छैन पूर्वाधार विकासमा सरकारी प्राथमिकताको पनि पोल खोलेको छ।

यसअघि जडीबुटी चोकदेखि पश्चिम उत्तरतर्फ एउटा घरका कारण सो सडक अरू अस्तव्यस्त थियो। गत भदौमा काठमाडौँ महानगरपालिका र काठमाडौँ सडक डिभिजन कार्यालयको समन्वयमा सो घर हटाइएपछि सडक विस्तार भएर पेप्सीकोलातर्फ जाने सवारीसाधन त्यही बाटो भएर जान थालेका छन् तर त्यहाँबाट पूर्वतर्फ लाग्ने लेनमा भने चोकमा नै माटोको ढिस्को रहेको छ।

दक्षिणतर्फको सर्भिस लेन उत्तरको जस्तो विकट छैन। त्यहाँबाट सवारीसाधन चल्छन् पनि तर पानी परेका बेला भने मोटरसाइकल र स्कुटर डुब्ने अवस्था हुन्छ।

स्थलगत अवस्था यस्तो रहे पनि काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद निहुरे भने माइतीघर–सूर्यविनायक सडक ‘फुल फ्लेज’ मा सञ्चालनमा आएको दाबी गर्नुहुन्छ। उहाँले त्यही एउटा घरका कारण अवरुद्ध सडक खुल्दा पूरै सडक खुलेको बताउनुभएको हो।

उहाँले भन्नुभयो, “वर्षौंदेखि अवरुद्ध रहेको कोटेश्वरदेखि जडीबुटीसम्मको सडक विस्तार पूरा भएको छ। सडक विस्तारसँगै अब सो ठाउँमा विस्तारित सडक सवारी आवागमनका लागि नियमित प्रयोगमा आइसकेकाले पहिलेको तुलनामा ट्राफिक जाम न्यून छ।”

डिभिजन प्रमुख निहुरेले जडीबुटी चोकदेखि मनोहरा पुलसम्मको सर्भिस लेन निर्माणका लागि ठेक्का लागी छिट्टै नै निर्माण सुरु हुने जानकारी दिनुभयो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

९ असोज २०८०, मंगलवार ०६:११ बजे प्रकाशित

NTA long ad