गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना, सङ्क्रमितको सङ्ख्या ७५ पुग्यो
आर्थिक सञ्जाल
पोखरा । नेपालमा शनिबार थप १७ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । शनिबार पुष्टी भएका सबै संक्रमितहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् ।
निर्देशनालयका अनुसार शनिबार स्याङ्जाका १०, कास्कीका ३, नवलपरासीका ३ र बागलुङका १ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुष, हरिनास गाउँपालिकाका १८ र ४० वर्षका पुरुष रहेका छन् ।
कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुष, नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३९ वर्षीय पुरुष रहेका छन् ।
गण्डकी प्रदेशमा हालसम्म स्याङ्जामा २३ जना, बागलुङमा १९, नवलपरासी पूर्वमा १३, पर्वतका ९, कास्कीमा ३, तनहुँका ३ जना, म्याग्दीका २ जना र लमजुङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।