पशुपति क्षेत्रमा आजबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थ निषेध
काठमाडौं । आज (सोमबार)बाट पशुपतिनाथ क्षेत्रमा लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ ।
हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको उल्लेख छ ।
पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको कार्यालयले जनाएको छ ।