stcnepal long ad
ime life insurance
national life
global ime bank long

थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका न्यायाधीशहरुको बुधबार बसेको सो बैठकले थप आठ प्रकारका मुद्दा सुनुवाइ शुरु गर्ने निर्णय गरेको सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले बन्दाबन्दी जारी भएपछि शुरुमा बन्दीप्रत्यक्षीकरण र महामारी सम्बन्धी मात्र मुद्दाहरुको सुनुवाइ शुरु गरेको थियो । त्यसपछि सेवाग्राही उपस्थित नहुँदा हुने मुद्दा र सार्वजनिक सरोकारका रिट निवेदनमाथि सुनुवाइ शुरु गरी अहिले थप आठ प्रकारका सुनुवाइ गर्ने निर्णय गरेको हो ।

बैठकले बन्दाबन्दीको अवधिमा दर्ता हुन आएको रिट निवेदनको कारवाही र सुनुवाइ गर्ने, सम्बन्धित पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौज्दारी कार्यविधि संहिता अनुसारको निवेदनको कारवाही र सुनुवाइ गर्ने निर्णय गरेको छ ।

पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका दरपीठ आदेशविरुद्धका निवेदन, बन्दाबन्दीअघि दर्ता भई कारवाहीयुक्त अवस्थामा रहेको र पक्ष वा कानून व्यवसायी उपस्थित हुनसक्ने मुद्दाको सुनुवाइ शुरु गर्ने निर्णय गरेको हो ।

बैठकले कानून व्यवसायी नियुक्त नगरिएका थुनामा रहेका व्यक्ति पुनरावेदक भई वैतनिक वकिल मार्फत प्रतिनिधित्व हुने मुद्दाको सुनुवाइ, सरकार पुनरावेदक भएका मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भई प्रतिवादीले म्याद गुजारी चैत ९ गतेअघि म्याद थमाउने अवधि समाप्त भएका मुद्दाको सुनुवाइ थालनी गर्ने निर्णयमा उल्लेख छ ।

पक्ष तारिखमा नरहेको वा तारिख गुजारी थमाउने अवधि समाप्त भएका र कानून व्यवसायी उपस्थित हुन नसक्ने मुद्दाको सुनुवाइ हुने, मिलापत्र र मुद्दा फिर्ता सम्बन्धी कारवाही आजदेखि नै शुरु भएको छ ।  रासस

IME Lifesidebar
kumari