श्रमिक आपूर्तिकर्तालाई रोजगारदाताका रूपमा कोषमा सूचीकृत हुन आग्रह
काठमाडौँ। सामाजिक सुरक्षा कोषले सार्वजनिक खरिद प्रक्रियामा संलग्न सम्पूर्ण रोजगारदाता तथा श्रमिक आपूर्तिकर्तालाई रोजगारदाताका रूपमा कोषमा सूचीकृत हुन आग्रह गरेको छ ।
सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ बमोजिम सार्वजनिक खरिदका क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्ने व्यवस्थाबमोजिम कोषले सबै रोजगारदातालाई सूचीकृत हुन आग्रह गरेको हो ।
कार्यविधिमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आफू अन्तर्गत कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र नियमित योगदान रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कोषका अनुसार सार्वजनिक खरिद अन्तर्गतका निर्माण कार्य, मालसामान आपूर्ति, परामर्श सेवा तथा अन्य सेवा खरिदमा संलग्न श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता, नियमित योगदान सङ्कलन र पारिश्रमिक भुक्तानीको सुनिश्चितता हुनुपर्ने व्यवस्था छ ।
यस व्यवस्थाले श्रमिकको सामाजिक सुरक्षाको हक प्रत्याभूति हुनुका साथै खरिद सम्झौता कार्यान्वयन, भुक्तानी प्रक्रियालाई समेत सहज, पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
कोषले सम्बन्धित सार्वजनिक निकाय तथा रोजगारदातासँग आवश्यक समन्वय गरी तथ्याङ्क प्रमाणीकरण, सुरक्षित सूचना आदानप्रदान र प्रणालीगत अन्तरआबद्धता सहजीकरण गर्ने जनाएको छ । यसरी तथ्याङ्क आदानप्रदान र प्रमाणीकरण गर्दा श्रमिकको व्यक्तिगत विवरणको गोपनीयता तथा प्रचलित कानुनबमोजिम तथ्याङ्कको पूर्ण सुरक्षा सुनिश्चित गरिने कोषले स्पष्ट पारेको छ ।
कोषका उपकार्यकारी निर्देशक तथा प्रवक्ता कृष्ण अधिकारीले रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ताको सक्रिय सहभागितामा सार्वजनिक खरिद प्रक्रियालाई श्रमिकको उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्न कोष प्रतिबद्ध रहेको बताउनुुभयो ।
उहाँले सङ्घीय, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका सम्पूर्ण सार्वजनिक निकाय, सार्वजनिक संस्थानका साथै सार्वजनिक खरिदमा संलग्न रोजगारदाता र श्रमिक आपूर्तिकर्तालाई कोषमा आबद्ध भई कार्यविधिबमोजिमका व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न र गराउन आग्रह गर्नुभयो ।























