citizens life insurance long ad

बैंकहरूले एटिएममा राख्न थाले सयका नोट

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटिएम मेसिनबाट सय रुपैयाँ दरका नोटहरू पनि झिक्न मिल्ने सेवा सुरु गरेका छन्।

आगामी असोज २५ गते घटस्थापनाको दिनबाट सुरु हुने दसैं लगायतका चाडपर्वलाई लक्ष्य गर्दै बैंकहरूले एकसय रुपैयाँ दरका नयाँ नोट पनि एटिएमममा राख्न थालेका हुन्। यसपालीको दसैं सुरु हुने दिन घटस्थापना आउन अब जम्मा १२ दिन मात्र बाँकी छ।

यसअघि बैंकहरूले एटिएममा हजार र पाँचसय रुपैयाँका नोट मात्रै राख्दै आएका थिए। एकसय रुपैयाँ र सोभन्दा कमका नोट साट्न ग्राहकले सम्बन्धित बैंक तथा वित्तिय संस्थामै पुग्नुपर्ने बाध्यता थियो।

बैंकहरूले बुधबारबाट एटिएम मेसिनमा सय रुपैयाँका नोट पनि राख्न थालेपछि अहिले दसैंका लागि नयाँ नोट लिन खोज्ने सर्वसाधारण र विद्यार्थीलाई निकै राहत भएको छ।

बैंकहरूले पनि सर्वसाधारण र विद्यार्थीको सहजताका लागि आफ्ना सीमित एटिएम मेसिनहरू क्यालिब्रेट गरेर १०० रुपैयाँ दरका नोट पनि राख्न थालेका हुन्। दसैंका उपभोक्ताको सहजताका लागि राष्ट्र बैंकले गरेको नयाँ निर्देशन र सम्बन्धित बैंकहरूको प्राविधिक तयारीपछि अहिले काठमाडौं उपत्यकाका केही प्रमुख स्थानहरूबाट सय रुपैयाँ दरका नोट एटिएमबाटै पाइन थालेको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालले काठमाडौं उपत्यकाका केही महत्त्वपूर्ण व्यापारिक स्थाननजिकका बैंकले एटिएम मेसिनबाट सय रुपैयाँ लिन मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी गराए।

विशेषगरी विद्यार्थी र न्यून आय भएका सर्वसाधारणको सहजताका लागि एटिएममा १०० रुपैयाँको नोट राख्न आग्रह गरिएको जानकारी गराउँदै दाहालले भने, ‘काठमाडौं उपत्यकाभित्र दरबारमार्ग, सिंहदरबार, न्युरोडलगायतका केही स्थानका एटिएमबाट सय रुपैयाँका नयाँ नोट निस्किने गरी प्राविधिक व्यवस्था मिलाइएको छ।’

राष्ट्र बैंककाअनुसार सम्बन्धित बैंकहरूले आफ्ना एटिएममध्ये १५ देखि २५ प्रतिशत मेसिनमा सय रुपैयाँ दरका नोट राख्न सकिने जानकारी राष्ट्र बैंकलाई गराएका छन्। यसअघि दसैं, तिहार तथा छठपर्व लगायतका ठूला चाडपर्वको समयमा सर्वसाधारणले एकसय रुपैयाँका साना एवं नयाँ नोट साट्न बैंकका काउन्टरहरूमा पुगेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो।

अब यसरी बैंकका काउन्टरहरूमा पुगेर लामो समय लाइन लाग्ने अत्यधिक भिडभाड कम गर्न र डिजिटल माध्यमबाटै सय रुपैयाँका साना नोट उपलब्ध गराउन राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बैंकर्स संघलाई औपचारिक निर्देशनात्मक पत्र नै पठाएको थियो।

राष्ट्र बैंकले नेपाल बैंकर्स संघलाई औपचारिक रूपमा पठाएको पत्रमा ‘नजिकिँदै गरेको महान् चाड बडादसैंको उपलक्ष्यमा १०० रुपैयाँ दरका नोटहरू पनि एटिएम मेसिनबाट वितरण गर्न सकिएमा बैंक तथा वित्तीय संस्थाहरूमा साना दरका नोट साट्ने ग्राहकको भिड उल्लेख्य मात्रामा कम हुने आकलन गरिएको हुँदा सय रुपैयाँ दरको नोट पनि एटिएमबाट निकाल्न मिल्ने व्यवस्था मिलाई सहयोग गरिदिनुहुन अनुरोध छ’, भनिएको थियो।

राष्ट्र बैंकको सोही निर्देशात्मक पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स संघ नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाइएको थियो।

सर्वसाधारणको हितका लागि नेपाल राष्ट्र बैंकले गरेको आग्रहपछि बुधबारबाट काठमाडौं उपत्यका भित्रका केही एटिएम मेसिनबाट सय रुपैयाँका नोट निकाल्न सकिने अवस्था आएको हो। सबै एटिएम मेसिनबाट सय रुपैयाँ दरका नोट निकाल्न भने प्राविधिक रूपमा अझै सम्भव छैन।

बैंकरहरूकाअनुसार पुराना मोडलका अधिकांश एटिएम मेसिनहरूमा सय रुपैयाँका नोट राख्ने ठाउँ (क्यासेट वा च्याम्बर) २ वटा मात्र हुन्छन्।

त्यस्ता मेसिनमा हाल १ हजार र ५०० दरका नोट मात्र राखिने भएकाले अब सय रुपैयाँका नोट थप्न प्राविधिक कठिनाइ हुन्छ। राष्ट्र बैंकको निर्देशनपछि पछिल्लो समय जडान गरिएका नयाँ एटिएम मेसिनहरूमा मात्र सय रुपैयाँका नोट पनि राख्न मिल्ने ३ देखि ४ वटासम्म क्यासेट हुने गर्दछन्।

अहिलेसम्म पुराना मेसिनमा २ वटा मात्र च्याम्बर प्रयोग भइरहेकोमा अब बाँकी च्याम्बरलाई क्यालिब्रेट गरेर सय रुपैयाँ दरका नोट राख्न थालिएको हो।

हाल सञ्चालनमा रहेका कुल एटिएममध्ये करिब २५ प्रतिशत नयाँ प्रविधिका रहेकाले तत्कालका लागि ती मेसिनबाट सय रुपैयाँको नोट उपलब्ध गराउन सकिने सम्बन्धित बैंकरहरूले बताएका छन्।

एटिएमबाटै १०० रुपैयाँको नोट पाइन थालेपछि थोरै रकम झिक्नुपर्ने विद्यार्थी, न्यून आय भएका सार्वसाधारण तथा खुद्रा रकम चाहिनेहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ।

IME Lifesidebar
kumari