उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चितवन । बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासनसम्बन्धी आफ्ना सेवा अनलाइन प्रणालीमार्फत प्रवाह गर्ने भएको छ ।

कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार मङ्गलबारदेखि उद्योग दर्ता प्रक्रिया ‘अनलाइन’बाट सुरु गरिएको छ । यस्तै, यही असोज १० गतेदेखि उद्योग प्रशासनसम्बन्धी सबै सेवा पूर्णरूपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिनेछ ।

उद्योग दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, नाम परिवर्तन, उद्देश्य परिवर्तन, पुँजी वृद्धि, खारेजी, उद्योगको स्तर परिवर्तन, कानुनी स्वरूप परिवर्तन तथा वर्ग परिवर्तनलगायतका सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत हुनेछ ।

बागमती प्रदेशको उद्योग मन्त्रालयले सफ्टवेयर तयार गरी प्रदेशका १३ वटै जिल्लामा अनलाइन प्रणाली लागू गरेसँगै चितवनमा पनि उद्योग प्रशासनका सेवा अनलाइनबाट सञ्चालन गर्न लागिएको हो । उहाँका अनुसार यसअघि मकवानपुरमा यो प्रणाली सञ्चालनमा आइसकेको छ ।

प्रमुख पौडेलका अनुसार कार्यालयमा दर्ता रहेका पुराना करिब १७ हजार उद्योगका फाइलको ‘डिजिटल’ अभिलेखीकरण गर्ने काम भइरहेको छ । असोज महिनामा नवीकरण गर्नुपर्ने उद्योगका फाइललाई प्राथमिकतामा राखेर डिजिटल अभिलेखीकरण भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “असोज महिनामा नवीकरण गर्नुपर्ने उद्योगका सबै फाइललाई स्क्यान गरेर हामीले डिजिटाइज गर्दैछौँ । यो महिनामा आउने सेवाग्राहीको ८० प्रतिशत काम डिजिटाइज हुन्छ ।”

चितवनमा हाल १७ हजार उद्योग दर्ता छन् । तीमध्ये १२ हजार उद्योग सञ्चालनमा रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । जिल्लामा २३ हजार वाणिज्य फर्म दर्ता छन् । उद्योगको तुलनामा वाणिज्यतर्फका फर्म बढी चलायमान रहेको उहाँले बताउनुभयो । कतिपय उद्योग भने आवश्यक प्रक्रिया पूरा गर्नका लागि मात्र सञ्चालनमा रहेको पाइएको छ ।

सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमा ‘सहायता कक्ष’ स्थापना गरिएको छ । अनलाइन फाराम भर्न नसक्ने वा कम्प्युटरको सुविधा नभएका सेवाग्राहीलाई सहायता कक्षका कर्मचारीले निःशुल्क सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

सेवाग्राहीले कुनै अन्योल भएमा फोन तथा इमेलमार्फत आवश्यक परामर्श लिन सक्नेछन् । कार्यालयबाट घरेलु, लघु तथा साना उद्योगका साथै हाल रु ५० करोडसम्म स्थिर पुँजी भएका मझौला उद्योगसमेत दर्ता तथा सञ्चालन अनुमति लिन सकिने प्रमुख पौडेलले जानकारी दिनुभयो ।

सेवाग्राहीले घरबाट नै चौबिसै घण्टा अनलाइन आवेदन दिन सक्नेछन् । राजस्व भुक्तानी भएपछि मात्र कार्यालयबाट आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । कार्यालयले हाल सेवाग्राहीलाई अनलाइन दर्ता प्रणालीबारे जानकारी गराउने तथा कार्यालयमा रहेका पुराना फाइललाई डिजिटल अभिलेखीकरण गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

IME Lifesidebar
kumari