उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाए
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा कमाएको १ करोड ५९ लाख रुपैयाँको तुलनामा २५२.७२ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी १७ करोड ६८ लाख रुपैयाँबाट २१ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिशन आम्दानी २ करोड ४० लाख रुपैयाँबाट २ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
यता इम्पेयरमेन्ट चार्ज ५ करोड ९ लाख रुपैयाँबाट २ करोड ७४ लाख रुपैयाँमा झर्दा कुल आम्दानी २० करोड ८ लाख रुपैयाँबाट २४ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज घटेका कारण सञ्चालन मुनाफा २ करोड २८ लाख रुपैयाँबाट ह्वात्तै बढेर ८ करोड २ लाख रुपैयाँ पुगेको छ ।
प्रतिशेयर आम्दानी १५.०१ रुपैयाँबाट ५२.९३ रुपैयाँ पुग्दा खराब कर्जा ४.८५ प्रतिशतबाट झण्डै दोब्बरले वृद्धि भई ९.९७ प्रतिशत पुगेको छ ।
आधारदर १२.११ प्रतिशत रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ ३०५.५४ रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफा ३ करोड ८३ लाख रुपैयाँ ऋणात्मकबाट ४९ लाख रुपैयाँ धनात्मक भएको छ ।
चुक्ता पूँजी १० करोड ६१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ३२ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
कम्पनीले कर्जा प्रवाह २ अर्ब ३७ करोड रुपैयाँबाट घटेर २ अर्ब ३० करोड रुपैयाँमा झरेको छ भने निक्षेप संकलन १ अर्ब ४० करोड रुपैयाँबाट बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।





















