stcnepal long ad
ime life insurance
national life
global ime bank long

गत आर्थिक वर्ष श्रम स्वीकृति लिनेको संख्या घट्यो, करिब ७ लाख ९२ हजार नेपाली वैदेशिक रोजगारीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा ७ लाख ९२ हजार १ सय ८७ जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्।

विभागका अनुसार श्रम स्वीकृति लिएकामध्ये ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला रहेका छन्। यो संख्या आर्थिक वर्ष २०८१/८२ को तुलनामा ४७ हजार ७९ ले कम हो। अघिल्लो आर्थिक वर्षमा ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति प्राप्त गरेका थिए।

तथ्यांकले संस्थागत रूपमा म्यानपावर कम्पनीमार्फत विदेश जाने श्रमिकको संख्यामा उल्लेख्य गिरावट आएको देखाएको छ। गत आर्थिक वर्ष म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९ सय ९० जना बिदेसिएका छन्। व्यक्तिगत श्रम स्वीकृति मार्फत १ लाख २८ हजार ५ सय २० जना वैदेशिक रोजगारीमा गएका छन् भने सरकार–सरकार (जी–टु–जी) प्रणालीबाट ८ हजार १ सय ९७ जना बिदेसिएका छन्।

अघिल्लो आर्थिक वर्षमा भने म्यानपावर कम्पनीमार्फत ३ लाख ५९ हजार ६ सय ७५ जना श्रमिक विदेश पठाइएको थियो। त्यसको तुलनामा गत आर्थिक वर्ष यस्तो संख्या ९० हजार ६ सय ८५ ले घटेको विभागको विवरणमा उल्लेख छ।

गन्तव्य मुलुकका आधारमा हेर्दा संयुक्त अरब इमिरेट्स (युएई) सबैभन्दा धेरै नेपाली श्रमिक जाने मुलुक बनेको छ।

पुनः श्रम स्वीकृति लिएकासमेत गरी युएईमा १ लाख ८३ हजार ५ सय ८० जना पुगेका छन्। त्यसपछि मलेसियामा १ लाख २८ हजार ७ सय ५३, साउदी अरेबियामा १ लाख २३ हजार ७ सय १९ तथा कतारमा १ लाख २१ हजार २ सय ३० जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि गएका छन्।

त्यसैगरी, कुवेतमा ४३ हजार ३ सय ६०, रोमानियामा ३३ हजार ३ सय ६० र जापानमा २२ हजार २ सय ६६ जना नेपाली श्रमिकले श्रम स्वीकृति लिएर रोजगारीका लागि प्रस्थान गरेको विभागको तथ्यांकले देखाएको छ।

IME Lifesidebar
kumari