साउन १ देखि ड्राइभिङ लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने
काठमाडौं । यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को राजस्व अनलाइनबाटै तिर्ने व्यवस्थाका लागि आवश्यक तयारी गरिरहेको छ । सेवाग्राहीको भिडभाड कम गर्नका लागि यस सम्बन्धी आवश्यक प्राविधिक परीक्षण गरिरहेको र परीक्षण सफल देखिएको विभागले जनाएको छ ।
विभागले असार मसान्तभित्र सवारी चालक अनुमति पत्र (लाइसेन्स) सँग सम्बन्धित आवश्यक कामलाई प्रणालीमा आबद्ध गरिसक्ने जनाएको छ । त्यस लगत्तै साउनको सुरुदेखि नै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै राजस्व बुझाउन सक्नेछन् ।
हाल नयाँ सवारी चालक अनुमति पत्र लिदा वा नवीकरण गर्दा सेवाग्राहीले कार्यालयबाटै राजस्व तिर्नु पर्ने व्यवस्था छ । यसले गर्दा कार्यालयमा सेवाग्राहीको चाप देखिन्छ । यदि अनलाइनबाटै तिर्न सकिने व्यवस्था भयो भने भिडभाड कम हुने अपेक्षा गरिएको छ ।
हाल ड्राइभिङ लाइसेन्ससँग सम्बन्धित विभिन्न कार्यलाई अनलाइन बनाउने कार्यमा विभाग क्रियाशील रहेको छ ।
ट्राफिक प्रहरीसँग सम्बन्धित विभिन्न कार्य भने अनलाइन भएकाले सेवाग्राहीलाई सहज भएको छ । ट्राफिकसँग सम्बन्धित विभिन्न नियम उल्लंघन गर्दा वा विभिन्न अवस्थामा रकम तिर्न अनलाइनमार्फत नै सकिने व्यवस्था छ ।

























