नयाँ प्रणालीबाट विद्युतीय राहदानी
काठमाडौँ । अब सरकारले वितरण गर्ने विद्युतीय राहदानी नयाँ प्रणालीमार्फत नागरिकले पाउने भएका छन् । नयाँ प्रणाली मार्फत राहदानी जारी गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ ।
विगतमा फ्रान्सको आइडिया कम्पनीको प्रविधिमार्फत वितरण हुँदै आएको विद्युतीय राहदानी अब जर्मनीका दुई कम्पनीको सहकार्यमा छापिने गरी नयाँ प्रणालीमा प्रवेश गर्न लागेको हो ।
हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदै गर्दा जिल्ला तथा इलाका प्रशासन कार्यालय एवं विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने भनी विभागले गत फागुन २८ गते सेवाग्राहीका नाममा सूचना जारी गरेको थियो । उक्त सूचना स्मरण गराउँदै अब छिट्टै नयाँ प्रणालीमार्फत राहदानी वितरण हुने विभागले प्रस्ट पारेको छ ।
यही असार २९ गतेदेखि हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागिएकाले विविध असर देखिन सक्ने विज्ञप्तिमार्फत जनाइएको छ । ज
स अनुसार नयाँ प्रणालीमा सेवा जोडिँदै गर्दा जिल्ला, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा यही असार २४ देखि २६ गते तीन दिनसम्म बन्द हुने भएको छ ।
त्यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिन बन्द रहने विभागले जनाएको छ । बिचको केही दिन सार्वजनिक बिदा रहने र त्यसपछि असार २९ गतेदेखि नयाँ
प्रणालीमार्फत राहदानी सेवा नियमित हुने छ । राहदानी सेवा केही दिन बन्द रहँदा सेवाग्राहीमा पर्ने असुविधाप्रति विभागले क्षमा मागेको छ ।
गत फागुनदेखि नै नयाँ प्रणालीमा लैजान परीक्षण छपाइ तथा अनलाइन प्रविष्टिको परीक्षण भइरहेको थियो । बिचमा कम्पनी हस्तान्तरणको विषयमा विवाद उठे पनि सरकारले सम्झौता भएकै कम्पनीमार्फत राहदानी छपाइ तथा अन्य प्राविधिक व्यवस्थापन गर्ने विषयमा सकारात्मक पहल लिएको हो । जसले नागरिकले पाउने सेवामा कुनै असर नपार्ने र अर्कोतर्फ उठेका विवाद अदालतले नियमनको दिशा देखाउने पथलाई सरकारले अँगालेको हो ।



























