stcnepal long ad
global ime bank long

कानुनविपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कानुनी स्वीकृति, शय्या क्षमता तथा निर्धारित कार्यक्षेत्रभन्दा बाहिर गएर सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्थामा आबद्ध नहुन चिकित्सकहरूलाई सचेत गराएको छ।

काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य सेवा क्षेत्रलाई कानुनसम्मत, व्यवस्थित र पारदर्शी बनाउन चिकित्सकहरूको विशेष भूमिका रहने उल्लेख गरेको छ।

काउन्सिलका अनुसार पछिल्लो समय केही स्वास्थ्य संस्थाले प्राप्त सञ्चालन अनुमति र स्वीकृत सेवाको सीमाभन्दा बाहिर गएर विभिन्न स्वास्थ्य सेवा प्रदान गरिरहेको तथा त्यस्ता संस्थामा कार्यरत चिकित्सकहरू समेत नियामकीय मापदण्डको पालना नगरी संलग्न रहेको विषय गम्भीर रूपमा ध्यानाकर्षण भएको छ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ ले तोकेको व्यवस्था अनुसार कुनै पनि स्वास्थ्य संस्थाले स्वीकृत इजाजतपत्रमा उल्लेख नभएका सेवा सञ्चालन गर्न नपाउने स्पष्ट प्रावधान रहेको काउन्सिलले जनाएको छ। कानुनविपरीत सञ्चालन भएका संस्थाको अनुमति स्वतः निष्क्रिय वा खारेज हुन सक्ने कानुनी व्यवस्था रहेको पनि सूचनामा उल्लेख गरिएको छ।

काउन्सिलले यस्ता संस्थामा कार्यरत चिकित्सकहरू समेत कानुनी कारबाही, व्यावसायिक जोखिम तथा नैतिक उत्तरदायित्वको दायरामा आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। स्वास्थ्य संस्थाको गैरकानुनी गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुँदा चिकित्सक स्वयं पनि समस्यामा पर्न सक्ने काउन्सिलको भनाइ छ।

IME Lifesidebar
kumari