आज नेप्से परिसूचकमा सामान्य सुधार
काठमाडौँ । बुधबार धितोपत्र बजार (नेप्से) मा सामान्य सुधार देखिएको छ । तीव्र उतारचढावकाबिच नेप्से परिसूचक २.५७ अङ्कले बढेर २७३६.१७ विन्दुमा पुगेर बन्द भएको छ ।
आज बजार खुला भएदेखि नै उतारचढावपूर्ण रहेको थियो । सुरुवाती समयमा तीव्र वृद्धि देखिए पनि मध्याह्नपछि बजार केही दबाबमा परेको देखिन्छ । यद्यपि, अन्तिम समयमा बजार हरियो सङ्केतसहित बन्द हुन सफल भयो।
बजारमा आज कुल ३५६ वटा स्क्रिप्सको सेयर खरिदबिक्री भएको छ । दिनभरि भएका ४९ हजार २४८ वटा कारोबारमार्फत कुल ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६३ हजार ३२७ रुपैयाँ बराबरको कुल कारोबार भएको छ।
बजारमा आज कुल १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। आज कारोबार भएका कुल १३ उपसमूहहरूमध्ये ७ वटा उपसमूहमा हरियाली छाएको छ भने ६ वटा उपसमूह ओरालो लागेका छन् । बजारमा आज होटल्स तथा पर्यटन उपसूचक ०.५४ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.६५ प्रतिशतले बढेका छन्।
अर्कोतर्फ, जीवन बीमा उपसमूह ०.३२ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०.२४ प्रतिशतले ओरालो लागेका छन्। आज तीन वटा हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उत्कृष्ट कमाउने कम्पनीहरूमा कालिञ्चोक हाइड्रोपावरको मूल्य १४.९९ प्रतिशत, सोपान फर्मास्युटिकल्सको १४.९८ प्रतिशत र अपोलो हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत शीर्ष स्थानमा रह्यो, जसको २८ करोड ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड २७ लाख रुपैयाँ र सिटी होटल लिमिटेडको १६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।





























