stcnepal long ad
ime life insurance
national life
global ime bank long

अब नेपालीले पनि भारतमा क्यूआर भुक्तानी गर्न पाउने

नेपालको एआई प्लेटफर्म बनाउन भारतले सघाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली नागरिकहरूका लागि भारतमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने बाटो खुल्ने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा दुई देशबिच भएको तीन बुँदे सहमति अन्तर्गत सीमापार डिजिटल भुक्तानीलाई पूर्णता दिइने भएको हो ।

शनिबार भारतको नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश मन्त्री डा. एस. जयशङ्करबिच भएको उच्चस्तरीय द्विपक्षीय वार्तामा यी महत्त्वपूर्ण सहमतिहरू भएका हुन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)  बीच जुन २०२३ मै सीमापार डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको थियो । त्यस अन्तर्गत भारतीय पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने अवस्था बनेको छ । तर नेपाली नागरिकहरूले भने भारतमा भुक्तानी गर्न पाइरहेका छैनन् ।

सोही कठिनाइलाई सम्बोधन गर्न यसअघिकै सम्झौता अनुसार अन्तरदेशीय व्यक्ति-देखि-व्यक्ति (P2P) भुक्तानी प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने सहमति बनेको हो ।

यससँगै भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीचको आबद्धताले दुई देशका नागरिकहरूलाई सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी तथा व्यक्तिगत रेमिट्यान्स पठाउन सहज हुनेछ ।

साथै नेपालको आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्म विकासका लागि भारतले प्राविधिक सहयोग गर्ने भएको छ ।

नेपालको डिजिटल पूर्वाधारलाई बलियो बनाउन काठमाडौँ विश्वविद्यालय र भारतको डिजिटल इन्डिया भाषिणी विभागबिच एउटा समझदारी पत्र (एमओयू) मा समेत हस्ताक्षर भएको हो । यस अन्तर्गत नेपालका लागि भ्वाइस फस्ट (Voice First) भाषा अनुवाद प्लेटफर्म र राष्ट्रिय डिजिटल पूर्वाधारको विकास गरिनेछ ।

यसले नेपालमा एआई प्रविधिको प्रयोग र स्थानीय भाषाहरूको डिजिटल पहुँचमा ठुलो मद्दत पुर्‍याउने विश्वास छ। भेटवार्ताका क्रममा भारतीय विदेश मन्त्री डा. एस. जयशङ्करले नेपाल र भारतको सम्बन्धलाई विशेष र अद्वितीय भन्दै यसलाई विश्वास र आपसी लाभमा आधारित रहेको बताए ।

उनले भने, “हामी स्टार्टअप, एआई, सूचना प्रविधि र नवीकरणीय ऊर्जा जस्ता नयाँ क्षेत्रमा सहकार्य गर्न उत्सुक छौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी पहिलो नीति अनुरूप नेपालको प्रगति र समृद्धिका लागि भारत सदैव प्रतिबद्ध छ ।”

दुई मन्त्रीहरूबिच व्यापार, कनेक्टिभिटी, ऊर्जा साझेदारी (विशेष गरी जलविद्युत), शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र खेलकुदका क्षेत्रमा पनि विस्तृत छलफल भएको थियो । दुवै पक्षले खुला सीमाको सुरक्षा कायम राख्दै आपसी हितका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । परराष्ट्रमन्त्री खनाल आफ्नो भ्रमण सम्पन्न गरी ७ जुन २०२६ मा काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

IME Lifesidebar
kumari