पश्चिम नेपालको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक–निजी साझेदारी कम्पनी
काठमाडौँ । पश्चिम नेपालमा निर्माण हुने ठुला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमा वेस्ट सेती चार सय केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेती ट्रान्समिसन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी (एसपिभी) स्थापना गरिएको छ ।
करिब २० अर्ब रुपियाँ लागत अनुमान गरिएको आयोजना ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानीमा निर्माण गरिने जनाइएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) को सञ्चालक समितिले लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो ।
सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कम्पनीका संस्थापक साझेदारलाई सम्बोधन गर्दै ऊर्जा उत्पादनमा निजी क्षेत्रले पु¥याउँदै आएको योगदान अब प्रसारण पूर्वाधार विकासमा समेत विस्तार भएको बताउनुभयो । उहाँले प्रसारण लाइनलाई ऊर्जाक्षेत्रको लाइफ लाइनको संज्ञा दिँदै यस्तो साझेदारीले ऊर्जाक्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सहभागितामूलक विकास लोकतन्त्रको अभ्यास पनि भन्दै मन्त्री श्रेष्ठले प्रसारण लाइनमा निजी क्षेत्रसँगको सहकार्य नेपालका लागि नयाँ अभ्यास भएकाले सरकारले यसलाई प्रोत्साहन गर्ने बताउनुभयो । विद्युत् खरिदबिक्री सम्झौतासम्बन्धी समीक्षा प्रक्रिया जारी रहेको जानकारी दिँदै उहाँले प्राप्त प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरिने उल्लेख गर्नुभयो ।
ऊर्जाक्षेत्रमा दिगो र विश्वसनीय आपूर्ति सुनिश्चित भए मुलुकको अर्थतन्त्रले नयाँ गति लिने र सुदूरपश्चिमको आर्थिक विकासमा समेत महìवपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो ।
आयोजनाको सफल कार्यान्वयनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री श्रेष्ठले समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।
आरपिजिसिएलका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले जग्गा प्राप्ति, ‘राइट अफ वे’ तथा वनक्षेत्रको स्वीकृतिपछि निर्माण तीव्र रूपमा अघि बढाइने जानकारी दिनुभयो । यसका लागि आवश्यक तयारी सुरु भइसकेको उहाँले बताउनुभयो ।
कम्पनीका साझेदार समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले आयोजनालाई ऊर्जाक्षेत्रको ‘गेम चेन्जर’ परियोजनाको संज्ञा दिँदै दीर्घकालीन महìवका कारण निजी क्षेत्र लगानी गर्न उत्साहित भएको बताउनुभयो ।
त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले रणनीतिक दृष्टिले पनि आयोजना अत्यन्त महìवपूर्ण रहेको उल्लेख गर्नुभयो । कम्पनीको सेयर संरचना अनुसार सरकारी पक्षको ५१ प्रतिशत स्वामित्व रहने छ । यस अन्तर्गत आरपिजिसिएलको २६ प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको १२.५ प्रतिशत र चैनपुर सेती हाइड्रोपावर कम्पनी लिमिटेडको १२.५ प्रतिशत लगानी रहने छ ।
निजी क्षेत्रतर्फ समृद्धि इनर्जी लिमिटेडको २५.१ प्रतिशत, ङादी ग्रुप पावर लिमिटेडको सात प्रतिशत र स्युरी ङादी पावर लिमिटेडको ६.९ प्रतिशत सेयर रहने छ । बाँकी १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित चैनपुर सबस्टेसनदेखि डोटीको वनलेक हुँदै कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित दोधोधरा सबस्टेसनसम्म करिब १४५ किलोमिटर लम्बाइको चार सय केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिने छ ।
आयोजना अन्तर्गत चैनपुरमा १६० एमभिए र वनलेकमा ३१५ एमभिए क्षमताका सबस्टेसन निर्माण गरिने छ । आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति तथा प्रारम्भिक सर्वेक्षण सम्पन्न भइसकेको छ भने निर्माण अवधि पाँच वर्ष निर्धारण गरिएको छ ।
यो प्रसारण लाइनमार्फत ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना, ४५० मेगावाटको सेती नदी–६ आयोजना, १७० मेगावाटको अप्पर सेती आयोजनालगायत सेती नदी प्रणाली तथा यसका सहायक नदीमा निर्माण हुने विभिन्न आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने छ ।
करिब दुई हजार पाँच सय मेगावाटसम्म विद्युत् निकासी क्षमता विकास गर्ने लक्ष्य राखिएको यस आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता बढाउनुका साथै सीमापार विद्युत् व्यापार, ऊर्जा सुरक्षा र दीर्घकालीन ऊर्जा विकास रणनीतिलाई समेत सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
नेपालमा सार्वजनिक–निजी साझेदारी मोडेलमा विकास हुन लागेको प्रमुख प्रसारण पूर्वाधारमध्ये एक मानिएको यो आयोजना चार सय केभी तहको प्रसारण लाइन क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
वेस्ट सेती ट्रान्समिसन लिमिटेड २०८३ जेठ १३ गते औपचारिक रूपमा दर्ता भइसकेको छ भने आवश्यक नियामकीय स्वीकृतिपछि निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ ।





























