संविधानले स्थानीय सरकारलाई दिएको अधिकार र जिम्मेवारीमा हस्तक्षेप नगर्न उपत्यका मेयर फोरमको आग्रह
काठमाडौं । काठमाडौं उपत्यका भित्रका पालिकाहरुले वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान सुरू गर्ने भएको छ । उपत्यका मेयर्स फोरमको आज बसेको बैठकको ११ गतेदेखि भर्ना अभियान सुरु गर्ने निर्णय गरेको हो ।
११ गतेदेखि नयाँ शैक्षित्र सत्र सुरु गरि वैशाख १५ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्न र गराउन उपत्यका भित्रका सबै पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको फोरमका अध्यक्ष चिरिबाबु महर्जनले जनाकारी दिए ।
साथै संविधानले स्थानीय सरकारलाई दिएको अधिकार र जिम्मेवारीमा हस्तक्षेप नगर्न उपत्यका मेयर फोरमको आग्रह गरेकाे छ । सरकारले शैक्षिक सत्र २०८३ को भर्ना अभियान २०८३ वैशाख १५ गतेबाट र पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो ।
हरेक स्थानीय तहले शैक्षिक सत्र शुरु हुनु अगावै विद्यालय सञ्चालनका लागि शैक्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्दै आएको अवस्थामा नेपाल सरकारको उक्त सूचनाबाट विद्यालय सञ्चालनमा अन्यौलता सृजना भई नियमित शैक्षिक क्रियाकलापमा असर पर्न गएकोप्रति फोरमले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघको सुझाव तथा शिक्षक महासंघ, प्यान, प्याब्सन, एनप्याब्सन, अभिभावक संघ समेतका सरोकारवाला निकायहरुवाट प्राप्त गुनासो समेतको विश्लेषण गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र उपत्यकाको शैक्षिक वातावरणमा एकरुपता कायम गर्नका लागि सबै विद्यालयहरूमा शैक्षिक सत्र सञ्चालनको भावना अनुरुप पठनपाठन सुचारू गर्न आवश्यक देखिएको फोरमले जनाएको छ।
सरकारले हालै गरेको निर्देशनलाई समेत मध्यनजर गर्दै शिक्षा नियमावलीमा तोकिएको शैक्षिक सत्र अनुसार विद्यालय सञ्चालन गर्नका लागि यस वर्ष मिति २०८३ वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र मिति २०८३ वैशाख १५ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्नरगराउन आज बसेको बैठकको निर्णयानुसार उपत्यका भित्रका सबै पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गएको मेयर मर्हजनले जानकारी दिए ।
मुलुकमा विद्यमानइन्धन संकटलाई ध्यानमा राख्दै आगामी दिनमा इन्धनको थप संकट बढ्दै गएमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र विद्यालय सञ्चालन तथा पठनपाठन अवरुद्ध हुन नदिनका लागि अनलाइन कक्षा लगायत अन्य वैकल्पिक उपायको समेत तयारी गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।


























