आईसीटी फाउन्डेसनद्वारा ५०ं स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टरशिपदेखि इन्भेस्टमेन्टसम्मको सहयोग
काठमाडौं । औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई),नेपाल सरकारद्वारा आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) लाई बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) अपरेसन एन्ड म्यानेजमेन्ट प्रोग्राम कार्यान्वयनका लागि चयन गरिएको छ।
यस अन्तर्गत आईएफएनले डिजिटल एन्ड आईटी–इनेबल्ड स्टार्टअप इन्क्युबेसन प्रोग्राम सञ्चालन गर्दै बागमती प्रदेशको काठमाडौं उपत्यका र कोशी प्रदेशको इटहरी केन्द्रित ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपलाई समर्थन गर्नेछ।
मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने यो कार्यक्रम हाइब्रिड मोडल मा चलाइनेछ। कार्यक्रममा सहभागी स्टार्टअपहरूले विशेषज्ञबाट वान–टु–वान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट एन्ड भ्यालिडेसन सपोर्ट, र इन्भेस्टर रेडिनेस प्रिपरेशन प्राप्त गर्नेछन्।
आयोजकका अनुसार यो इन्क्युबेसन पहलले उद्यमशीलता विकासलाई काठमाडौं बाहिर पनि विस्तार गर्ने उद्देश्य राखेको छ। विशेषगरी ऐतिहासिक रूपमा कम अवसर पाएका क्षेत्रका उद्यमीलाई समेटेर नवप्रवर्तनको क्षेत्रीय इकोसिस्टम बलियो बनाउने लक्ष्य कार्यक्रमले राखेको छ।
कार्यक्रम मार्फत छनोट भएका स्टार्टअपलाई उद्योग–विशेषज्ञसँगको प्रत्यक्ष सम्पर्क, व्यावहारिक तालिम र नेटवर्किङ अवसर उपलब्ध गराइनेछ। यसले उनीहरूलाई आफ्नो बिजनेस मोडल परिष्कृत गर्न, बजारमा उपस्थिति बढाउन र लगानीका लागि तयारी गर्न मद्दत गर्ने विश्वास गरिएको छ।
यसका साथै उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सीड इन्भेस्टमेन्ट सपोर्ट प्राप्त गर्नेछन् भने उनीहरूलाई आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स र एआई कन्फरेन्स जस्ता राष्ट्रिय स्तरका प्लेटफर्ममा पहुँच प्रदान गरिनेछ।
आईसीटी फाउन्डेसन नेपालले यसअघि डिजिटल कर्णाली कन्क्लेभ र डिजिटल मधेश कन्क्लेभ जस्ता कार्यक्रममार्फत क्षेत्रीय नवप्रवर्तन प्रवर्द्धनमा योगदान दिँदै आएको छ।
यो कार्यक्रम मार्फत आईएफएनले नेपालको स्टार्टअप इकोसिस्टम सुदृढ गर्ने, समावेशी तथा क्षेत्रीय उद्यमशीलता प्रवर्द्धन गर्ने, नवप्रवर्तनमा आधारित आर्थिक वृद्धि अघि बढाउने र स्टार्टअपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा सहभागी हुनका लागि यहाँ क्लिक गरी दर्ता गर्नुहोस् । https://shorturl.at/e5n98 दर्ता गर्ने अन्तिम मिति वैशाख १०, २०८३ को राति ११:५९ बजेसम्म रहेको छ ।























