सभामुख र संसदीय मामिला पत्रकारबीच छलफल
काठमाडौं । सिंहदरबारस्थित कानुन समितिको बैठक कक्षमा आज बैशाख ४ गते संसदीय मामिला पत्रकार समाज र सभामुख डोलप्रसाद अर्यालबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मामिलाका अध्यक्ष मनोज सत्यालले सभामुख डोलप्रसाद अर्याललाई बधाई दिँदै संसदले अनुभवी, अनुशासित र शिष्ट नेतृत्व पाएको उल्लेख गरेका छन।
पत्रकारहरूले सभामुखलाई सधैं निकट र स्वीकार्य मान्दै सूचना आयोग सहित विभिन्न नियुक्ति प्रक्रियामा सभामुखको भूमिकाको समर्थन गर्दै आएको बताएका छन।
अन्तरक्रियाका क्रममा पत्रकारहरूले संसद भवनमा मिडिया सेन्टर अभावका कारण रिपोर्टिङमा समस्या भइरहेको बताउदै प्रतिनिधि सभा र राष्ट्रिय सभा छुट्टाछुट्टै सञ्चालन हुँदा थप कठिनाइ भएको गुनासाे गरेका थिए।
साथै, सिंहदरबारको गेट प्रयोगमा लगाइएको रोक हटाउनुपर्ने, फोटो पत्रकारलाई सहज रूपमा फोटो खिच्ने व्यवस्था मिलाउनुपर्ने र बैठक कक्षमा पत्रकारका लागि सिट व्यवस्था गर्नुपर्ने माग राखेका थिए।
पत्रकारहरूले संसदीय समितिका बैठक खुला गर्नुपर्ने आवश्यकता औंल्याउँदै नियमावली मस्यौदा समितिमा पत्रकार प्रवेश रोकिएकोप्रति ध्यानाकर्षण गराएका छन।
नयाँ नियमावलीमा लबि रिपोर्टिङको व्यवस्था गर्न र संसदीय रिपोर्टिङसम्बन्धी स्पष्ट कार्यविधि समावेश गर्न पनि सुझाव दिएका छन। कार्यक्रममा पत्रकारहरूले संसदमा खुलापन कायम राख्नुपर्नेमा जोड दिँदै सभामुखसँग नियमित पहुँच र भेटघाटको समय सुनिश्चित गर्न आग्रह गरेका छन।























