राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक अधिकारीविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैँया घूस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। उनीसँग सोहीबराबर बिगो माग गरिएको छ।
अधिकारीले महानिर्देशक हुँदा राजस्व चुहावट सम्बन्धि मुद्दा मिलाइदिने भनेर ७० लाख रुपैयाँ घूस लिएको पुष्टि भएको आयोगको ठहर छ । अधिकारीले एचके इन्टरप्राइजेजलाई राजसुव चुहावटको कसुरबाट जोगाउन त्यसका सञ्चालक श्रीकृष्ठ श्रेष्ठबाट घूस लिएको अख्तियारले बताएको छ ।
अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी र रविन्द्र लामिछानेसँगको मिलेमतोमा उनीहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई भक्तपुरको ठिमीस्थित दिव्वश्वरी आयोजनामा ५ आना जग्गा किनेकव अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारले अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाएको छ।
अधिकारी २०७९ असार १ देखि कार्तिक १६ गतेसम्म राजस्व अनुसन्धान विभागमा महानिर्देशक थिए। त्यसपछि उनी अध्यागमन विभागमा महानिर्देशक बनेका थिए । सुन तस्करी प्रकरणमा पनि अधिकारीको नाम जोडिएको थियो।

























