काठमाडौं विश्वविद्यालयद्वारा नेपालको पहिलो ‘मास्टर इन फिल्म स्टडीज’ कार्यक्रमको औपचारिक शुभारम्भ
काठमाडौं विश्वविद्यालय (KU), कला संकाय अन्तर्गतको भाषा तथा आमसञ्चार विभाग (DoLMC) ले नेपालमै पहिलो पटक ‘मास्टर इन फिल्म स्टडीज’ (MFS) कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ ।
सोमबार आयोजित एक प्रेस मिटमार्फत यस कार्यक्रमको घोषणा गरिएको हो । यो शैक्षिक कार्यक्रम फेब्रुअरी २०२६ देखि हात्तीबनस्थित ‘स्कूल अफ आर्ट्स’ क्याम्पसमा सञ्चालन हुनेछ ।
दुई वर्षे (६६ क्रेडिट) यस कार्यक्रमले नेपालमा फिल्म अध्ययनलाई औपचारिक शैक्षिक विधाको रूपमा स्थापित गर्दै उच्च शिक्षाको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
यसले विद्यार्थीहरूलाई फिल्मको सिद्धान्त, इतिहास, सौन्दर्यशास्त्र र सांस्कृतिक अध्ययनका साथै व्यावहारिक फिल्म निर्माणको सीप प्रदान गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रख्यात फिल्मकर्मी यादव खरेल रहनुभएको थियो भने विशिष्ट अतिथिका रुपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी., फिल्मकर्मी फिल्मकर्मी टिन धिरुडामल, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल फिल्म समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमिल्सिना, तथा डकुमेन्ट्री फिल्मकर्मी एवं ‘वुमन इन फिल्म नेपाल’ (Women in Film Nepal) की सह-संस्थापक सुश्री प्रश्ना डंगोल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै भाषा तथा आमसञ्चार विभागका प्रमुख प्राध्यापक निर्मलमणि अधिकारीले फिल्म अध्ययन कार्यक्रमको शुभारम्भ काठमाडौं विश्वविद्यालयका लागि सिर्जनात्मक शिक्षातर्फको एउटा महत्वपूर्ण फड्को भएको बताउनुभयो ।
“सिर्जनात्मक क्षेत्रको महत्त्वलाई आत्मसात् गर्दै स्कूल अफ आर्ट्सको स्थापना गरिएको हो । विभागले स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहसम्मका कार्यक्रमहरू विस्तार गर्दै फिल्मलाई पनि सोही मार्गमा ल्याएको छ,” उहाँले उल्लेख गर्नुभयो ।
प्राध्यापक अधिकारीले ‘ब्याचलर इन मिडिया स्टडीज’ (BMS) र ‘मास्टर्स इन मिडिया स्टडीज’ (MMS) कार्यक्रमको सफलतासँगै विद्यार्थीहरूमा फिल्म, फिल्म समालोचना र अनुसन्धानप्रतिको रुचि बढेकाले यो नयाँ कोर्स ल्याइएको बताउनुभयो । चलचित्र विकास बोर्डसँगको सहकार्य तथा विगतका ‘चलचित्र सम्मेलन’ (Chalachitra Conference) जस्ता कार्यक्रमहरूले यो आवश्यकतालाई थप पुष्टि गरेको उहाँको भनाइ थियो ।
प्रमुख अतिथि यादव खरेलले काठमाडौं विश्वविद्यालयको यस दूरदर्शी कदमको प्रशंसा गर्दै भन्नुभयो, “फिल्म केवल मनोरञ्जन मात्र नभई क्यामेरा, लाइटिङ, एआई, विज्ञान, संस्कृति र नवप्रवर्तनको समिश्रण हो । नेपालमा पहिलो पटक यसलाई स्नातकोत्तर तहमा शैक्षिक मान्यता दिनु आफैँमा ऐतिहासिक हो ।”
विशेष अतिथि दिनेश डी.सी. (नेपाल चलचित्र विकास बोर्ड) ले कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै नेपालमा फिल्मिङ स्टुडियो निर्माण, उच्च प्रविधिको प्रयोग, र रियल-टाइम बक्स अफिस प्रणालीको आवश्यकता औँल्याउनु भयो ।
औपचारिक रूपमा फिल्म अध्ययन गरेका व्यक्तिबाट निर्माण हुने चलचित्रहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय र प्रतिस्पर्धी हुने उल्लेख गर्दै वहाँले ‘learning by doing’ को महत्वमा जोड दिनुभयो । यस्ता शैक्षिक कार्यक्रमहरूले सक्षम र दक्ष फिल्मकर्मी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने वहाँको भनाइ थियो ।
त्यस्तै फिल्म समीक्षक तिमल्सिनाले फिल्म र समीक्षाबीच सिर्जना भएको अन्तरलाई यो पढाईले चिर्नेमा विश्वास व्यक्त गर्नुभयो । ‘अहिलेसम्म हामीकहाँ फिल्म र समीक्षाबीच ठूलो ग्याप थियो। यहाँ फिल्म समीक्षाको विषय समावेश गरेको देख्दा खुसी लाग्यो । फिल्म र समीक्षामा भएको यो ग्याप अब यो पढाईले हटाउनेछ,’ अध्यक्ष तिमल्सिनाले भन्नुभयो ।
MFS पाठ्यक्रममा फिल्म प्रोडक्सन, कथानक डिजाइन तथा स्क्रिनराइटिङ, फिल्म फर्म र नारेटिभ, नाट्यशास्त्र, कृत्रिम बुद्धिमत्ता र फिल्म, अनुसन्धान पद्धति लगायत फिक्सन तथा नन–फिक्सन फिल्मसम्बन्धी विषयहरू समावेश छन् ।
उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीहरूलाई व्यवहारिक अनुभव प्रदान गरिनेछ, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवी प्राध्यापकहरूले अध्यापन गर्नेछन्।यस कार्यक्रममा ३० क्रेडिट पूरा गरेपछि ‘स्नातकोत्तर डिप्लोमा’ (PG Diploma) लिएर बाहिरिन सकिने लचिलो व्यवस्था (Exit Option) विभागले बताएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने यस कार्यक्रमले फिल्म निर्माण, समालोचना, अनुसन्धान, शिक्षण र फिल्म क्युरेसनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।




























