घोराही सिमेन्टको पुस १४ गते पाँचौं वार्षिक साधारण सभा
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सञ्चालक समितिको बैठकले लाभांश घोषणासँगै पाँचौं वार्षिक साधारणसभा बोलाएको छ।
उक्त साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी १ बराबर ०.७५ को अनुपातमा हकप्रद शेयर निष्कासनको प्रक्रियामा रहेकाले बोनस शेयर वितरणपछि कायम हुने पूँजीको आधारमा सोही अनुपातमा हकप्रद निष्कासन गर्ने, कम्पनीले लिएको ऋण अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक सम्बद्ध रहेको संस्थासँग गरेको कारोबार अनुमोदन गर्ने, संस्थापक शेयरधनीबाट सापटी मागी सोको उपभोग गर्ने र संस्थापक शेयरधनी समूहबाट सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले यही मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ बुक क्लोजको आधारमा मंसिर २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै साधारण सभामा भाग लिन, लाभांश पाउन र मतदान गर्न योग्य हुनेछन्।
साधारण सभा आउँदो पुस १४ गते दाङको घोराहीस्थित होटल पौवामा बिहान ९ बजेदेखि शुरू हुनेछ।






























