citizens life insurance long ad
stcnepal long ad

नेपाल रुबेला रोग निवारण गर्न सफल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालले जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाल रुबेला रोग निवारण गर्न सफल भएको घोषणा गरेको छ । योसँगै रुबेला निवारण गर्ने विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल छैटौँ राष्ट्र बनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालले हासिल गरेको उल्लेखनीय उपलब्धि भन्दै खोपबाट बचाउन सकिने रोगविरुद्ध दिइने ‘खोप सेवामा गरेको निरन्तर एवं दृढ प्रयासको नतिजा’ प्राप्त गरेको भनेको छ ।

स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा. अभियान गौतमले विश्व स्वास्थ्य सङ्गठनका सम्पूर्ण चरण पूरा गरेर नेपालले रुबेला निवारण गर्न सफल भएको जानकारी दिनुभयो । डा. गौतमले एकले अर्कोलाई रोग सार्न रोकेको अवस्थामा निवारणको चरणमा हुने जानकारी दिँदै विश्व स्वास्थ्य सङ्गठनले नेपालमा आएर मात्र निवारण घोषणा गरेको बताउनुभयो ।

“रुबेला रोग निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले पर्सा र पर्वत जिल्लालाई छानेको थियो । पाँच वटा पिल्लरलाई समातेर निवारण भएको घोषणा गरिएको हो,” डा। गौतमले भन्नुभयो, “रुबेला रोग कति छ, प्रयोगशाला कत्तिको राम्रो छ, सर्भिलेन्स, खोपको उच्च कभरेजका हिसाबले निवारण घोषणा गरेको हो ।”

दादुरा जस्तै देखिने रुबेला अति सङ्क्रामक रोग हो । रुबेलाले गर्भवती महिलामा जटिलता निम्त्याउनुका साथै गर्भपतन हुने, मृत शिशु जन्मिने वा बच्चालाई जीवनभर असर पार्ने लगायतका समस्या देखा पर्छ ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीको लगनशीलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम भएको बताउनुभयो । यस उपलब्धिले शिशुका लागि स्वस्थ जीवनको सुरुवात र रुबेलामुक्त भविष्य सुनिश्चित गरेको उहाँको भनाइ छ ।

दक्षिण पूर्व एसिया क्षेत्रमा दादुरा र रुबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई स्वीकृत गर्दै नेपालबाट रुबेला निवारण भएको हो । क्षेत्रीय प्रमाणीकरण आयोगको २०८२ साउन ६ देखि ८ गतेसम्म भएको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणीकरण समितिले पेस गरेको रोग निगरानी र खोप कभरेज दर सम्बन्धी तथ्याङ्क तथा विवरणको समीक्षा तथा मूल्याङ्कन गरी नेपालमा रुबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालले क्षेत्रीय लक्ष्यभन्दा अगाडि रुबेला निवारण गर्नु राष्ट्रिय खोप कार्यक्रमको सफलताको अर्को प्रमाण भएको बताउनुभयो ।

उहाँले स्वास्थ्य प्रणालीको एक बलियो आधारस्तम्भका रूपमा रहँदै आएको जानकारी दिँदै नेपालको खोप कार्यक्रमलगायत समग्र स्वास्थ्य क्षेत्रमा ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) र विश्व स्वास्थ्य सङ्गठनले प्रदान गर्दै आएको निरन्तर सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

नेपालले सन् २०१२ मा नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रुबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । सन् २०१६ मा रुबेला खोपको दोस्रो मात्रा पनि राष्ट्रिय खोप तालिकामा थप गरियो ।

सन् २०१५, २०२३ का भूकम्प र कोभिड–१९ जस्ता स्वास्थ्य आपत्कालीन अवस्थाकाबिच पनि सन् २०१२, २०१६, २०२० र २०२४ मा देशभर सञ्चालन गरिएका रुबेला खोप अभियानले जीवनरक्षक खोपमा पहँच वृद्धि गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । त्यसै गरी सन् २०२४ सम्ममा नेपालले रुबेला खोपको पहिलो मात्रा ९५ प्रतिशतभन्दा बढी बालबालिकामा पु¥याउन सफल भएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयका प्रमुख डा. राजेश सम्भाजिराव पाण्डवले जनस्वास्थ्य क्षेत्रमा हासिल भएको महत्वपूर्ण उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायबिचको बलियो र प्रभावकारी सहकार्यको परिणाम भएको बताउनुभयो ।

IME Life
kumari