stcnepal long ad
ime life insurance
national life
global ime bank long

भानु खरेल तथा टिमले गरे एनआरएनए अमेरिकाको लागि उम्मेदवारी घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिका । यही अगस्ट १६–१७ मा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको अध्यक्ष पदका लागि भानु खरेल र उनको टिमले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।

शनिवार टेक्सस इर्भिंगमा आयोजित एक कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै भानु खरेलले अमेरिकामा रहेका नेपालीहरूको सामुदायिक सम्मान अरू उच्च बनाउन र अमेरिकास्थित नेपालीहरूको बौद्धिक, आर्थिक र व्यावसायिक क्षमतालाई नेपालसँग जोड्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताए।

हाल संघको उपाध्यक्ष पदमा कार्यरत खरेलले अमेरिकामा आएर धेरै नेपालीहरूले ‘अमेरिकी सपना’ साकार मात्रै पारेको नभै नेपालको उन्नतिमा पनि हातेमालो गरेको बताए ।

‘आइआइडीएसद्वारा गरिएको एक अध्ययनका अनुसार सन् २०२२ मा नेपालको सूचना प्रविधि (आइटी) निर्यात ५१५ मिलियन अमेरिकी डलर पुगेको थियो, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को १.४ प्रतिशत र विदेशी मुद्राको सञ्चितिको ५.५ प्रतिशत हो।

आइटी क्षेत्रबाट प्राप्त आम्दानीको ठूलो हिस्सा अमेरिकाबाट गएको थियो। त्यस्तै सन् २०२३ मा अमेरिकामा बसोबास गर्ने नेपालीहरूले १.२८ अर्ब अमेरिकी डलर रेमिट्यान्सको रूपमा नेपाल पठाएका थिए’ खरेलले भने।

उनले सन् २०१५ को नेपाल भूकम्पका बेला तथा कोभिड–१९ महामारीमा अमेरिकास्थित नेपाली समुदायले गरेको प्रयासमा सामेल हुन पाएको स्मरण पनि गरे।

२०२५–२७ का लागि अध्यक्ष पदमा निर्वाचित भएमा आफूले संस्थाभित्र एकता र समावेशितालाई प्रवर्द्धन गर्ने, युवा र महिलालाई प्रोत्साहन गर्ने, ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल मन्त्रलाई साकार पार्न एनआरएन नागरिकता र वंशजको नागरिकताको निरन्तरताको पक्षपोषण गर्ने, अमेरिकास्थित नेपालीहरूको व्यवसायलाई प्रवर्द्धन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने जनाए।

उनले नयाँ कार्यसमितिले एक छुट्टै टास्क फोर्स बनाएर नेपाली दूतावास, नास आइटी, नेपाल सरकार लगायत सबै साझेदारहरूसँगको पहलमा आउँदो पाँच वर्षमा नेपालबाट अमेरिकामा गरिने आइटी निर्यात दोब्बर पार्ने उद्देश्यले कार्य योजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘यस बाहेक पर्यटन, लगानीका साथै उद्यमशीलतालाई प्रोत्साहन गर्ने छु। त्यस्तै नेपाली बिजनेस फोरम बनाएर अमेरिकामा कार्यरत साना तथा मझौला उद्यमीहरूलाई सघाउन प्रोत्साहन गर्ने वातावरण तयार गर्नेछु,’ उनले भने।

अध्यक्षका उम्मेदवार खरेलले आफू निर्वाचित भएमा एनआरएनए हेल्पडेस्क हटलाइन, करियर परामर्श र रोजगार मेला जस्ता कार्यक्रमहरूलाई विस्तार गर्ने, सामाजिक र सांस्कृतिक कार्यक्रमहरूलाई  प्रोत्साहन  गरेर पहिलो र दोस्रो पुस्ताका नेपालीहरू बीचको खाडललाई पुर्ने जनाए ।

उनले एनआरएनएभित्र पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्नुका साथै नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन तथा नेपाली विद्यार्थीहरूको समस्या समाधान गर्नका लागि पनि संस्थागत रूपमा पहल गर्ने बताए।

कार्यक्रममा टिम भानुको तर्फबाट एनसीसी अमेरिकाका उम्मेदवारहरू सरोज सिग्देल (वरिष्ठ उपाध्यक्ष), उपाध्यक्षका उम्मेदवारहरू विष्णु बराल, बल राई, एक देव शर्मा, सी के पराजुली, दुर्गा तिवारी (महिला उपाध्यक्ष), नवराज न्यौपाने (युवा उपाध्यक्ष), अनुप खनाल (महासचिव), वासुदेव भट्ट (सचिव खुला), लक्ष्मी थापा (महिला सचिव), महेन्द्र बस्नेत (कोषाध्यक्ष), मोहन कुसारी (सह कोषाध्यक्ष), बिकी थापा (युवा संयोजक), सरस्वती शर्मा (महिला संयोजक), आइसिसी सदस्यका उम्मेदवारहरू रिता देवी प्रधान तथा दुर्गा प्याकुरेल, बोर्ड अफ डिरेक्टर्सका उम्मेदवारहरू ध्रुव गौतम, हेम बहादुर ठकुला, सुरेन्द्र कुमार अवस्थी, गोविन्द सापकोटा, क्षेत्रीय संयोजक (साउथ), निश्चल चापागाईँ लगायतले आफै उपस्थित भई वा लिखित सन्देश मार्फत उम्मेदवारी घोषणा गरेका थिए।

कार्यक्रममा युलेस सिटी काउन्सिलका सदस्य टिका पौडेल, नेप्लिज सोसाइटी अफ टेक्सासका वरिष्ठ उपाध्यक्ष जगन भण्डारी, ब्लड डोनर्स अफ अमेरिकाका शिव काफ्ले, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनाली, जसस टेक्सासका ज्ञानेन्द्र कार्की, विजय भुसाल लगायत समाजका अगुवाहरूले शुभकामना दिएका थिए। नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष दिनेश शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।

IME Lifesidebar
kumari