विकासका काम अब तीन ‘सिफ्ट’ मा काम हुने व्यवस्था मिलाउन सम्पूर्ण निकायलाई निर्देशन
काठमाडौँ । विकास आयोजनाको कार्यान्वयन गति बढाउन सरकारले दैनिक तीन ‘सिफ्ट’ मा काम हुने व्यवस्था मिलाउन सम्पूर्ण निकायलाई निर्देशन दिएको छ ।
बिहीबारदेखि सुरु नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले आयोजनाको कार्यान्वयनमा तीव्रता ल्याउन त्यस्तो व्यवस्था मिलाउनुपर्ने निर्देशन दिएको हो ।
यसअघि गत आर्थिक वर्षमा आयोजनाको काम दैनिक दुई सिफ्टमा गर्नुपर्ने मार्गदर्शनमा उल्लेख थियो ।
विकास आयोजना समयमै सम्पन्न नभएको, ढिलाइका कारण सास्ती भोग्नु परेको गुनासालाई सम्बोधन गर्न मन्त्रालयले दैनिक काम गर्ने परिपाटीलाई तीन सिफ्टमा पु¥याउनुपर्ने व्यवस्था गरेको हो ।
मार्गदर्शनमा सार्वजनिक खरिद सम्बन्धी नमुना बोलपत्र कागजातको निर्माण र परिमार्जन नेपालीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । आयोजनाको नतिजाप्रति प्रमुख र निर्माण व्यवसायीलाई थप जवाफदेखी बनाउनुपर्ने निर्देशन पनि मन्त्रालयले दिएको छ ।
त्यस्तै न्यूनतम अङ्क नल्याएको अवस्थामा बाहेक आयोजना अवधिभर सरुवा नगर्ने मापदण्ड तयार गर्नुपर्ने व्यवस्थालाई यस पटक पनि अर्थले निरन्तरता दिएको छ ।
बजेट तथा स्वीकृत कार्यक्रममा नपरेका कार्यक्रम तथा आयोजनाको कार्यान्वयन नगर्न मन्त्रालयले निर्देशन दिएको छ ।
त्यस्तै बजेटमा समावेश भएका नयाँ कार्यक्रम कार्यान्वयन गर्दा सो आयोजनामा प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भएरनभएको यकिन गर्ने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ ।
अर्थको सहमतिबिना थप आर्थिक दायित्व सिर्जना गर्न नहुने, आयोजनाको बहुवर्षीय खरिदमा स्रोत सहमतिसम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्ने, अति आवश्यकबाहेक एकभन्दा बढी तहमा सहायक ठेक्का सम्झौता गर्न नपाउने, भौतिक प्रगति र गुणस्तरका आधारमा मात्र भुक्तानी दिनुपर्ने, सरकारी स्वामित्वको जग्गामा मात्र भवन निर्माण गर्नुपर्ने जस्ता व्यवस्था पनि नयाँ मार्गदर्शनले गरेको छ ।
मन्त्रालयले आर्थिक वर्षको पहिलो त्रैमासिक र असारमा रकमान्तर गर्न नपाइने प्रावधान पनि राखेको छ । त्यस्तै सुरु विनियोजन नभएको खर्च सङ्केत र नयाँ क्रियाकलापमा पनि रकमान्तर गर्न नसकिने मार्गदर्शनमा व्यवस्था गरिएको छ ।
चालु आर्थि वर्षको कार्यक्रमभित्रको आयोजनाका लागि रकमान्तर गरी बनेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा सुरु विनियोजन भएको रकमको चार गुणाभन्दा बढी रकमान्तर गर्न पाइने छैन ।
मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयन गर्नुपूर्व सम्बन्धित मन्त्रालय वा निकायले आयोजना बैङ्कमा प्रविष्ट गर्नुपर्ने छ ।
अर्थ मन्त्रालयले निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवाप्रदायक र परमार्शदाताको भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने निर्देशन पनि दिएको छ ।
त्यस्तै त्रैमासिक अवधिमा भएको कार्यको दायित्व भुक्तानी सो अवधि समाप्त भएको अर्को महिनाभित्र अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था मिलाउन पनि अर्थले निर्देशन दिएको छ ।
निर्माणस्थलबाट हटाउनुपर्ने रुखबिरुवा हटाउने सुनिश्चित र वातावरणीय अध्ययन प्रतिवेदनको स्वीकृति लगायत आयोजना पूर्वतयारीका कार्य पूरा गरेर मात्र खरिद प्रक्रिया सुरु गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
अत्यावश्यक अवस्थामा बाहेक चारपाङ्गे्र सवारी साधन खरिद गर्न अर्थ मन्त्रालयको पूर्वसहमति लिनैपर्ने सरकारी कार्यक्रम सकेसम्म सरकारी सभा हल नै प्रयोग गर्नुपर्ने, विदेश भ्रमणमा अर्थको स्वीकृति लिनैपर्ने जस्ता व्यवस्था पनि मार्गदर्शनमा गरिएको छ ।
फागुनसम्म खर्च हुन नसकेको र पछि पनि खर्च नहुने अवस्थामा चैत १५ गतेभित्र विनियोजित बजेट समर्पण गर्नुपर्ने व्यवस्थालाई अर्थले निरन्तरता दिएको छ ।
























