नेपाल र भारतबीचका सबै समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा नेता जोलीको जोड

काठमाडौँ । भारतीय जनता पार्टीका नेता विजय जोलीले भारत र नेपालबीचका सबै समस्या वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सार्वजनिक नीति तथा साझेदारी प्रतिष्ठानले ‘समसामयिक वैश्विक मामिला तथा नेपाल–भारत सम्बन्ध’ विषयमा काठमाडौँमा आयोजना गरेको छलफलमा उहाँले भारत र नेपालले मिलेर आफ्ना सिमानाको रक्षा गरेका तथा आपसमा खासै मनोमालिन्य नरहेको चर्चा गर्नुभयो । यस्ता केही समस्या भए पनि वार्ताका माध्यमबाट निरुपण गर्न सकिने उहाँको भनाइ थियो ।
भारतीय सेनाको गोर्खा रेजिमेन्टमार्फत ३२ हजार नेपालीले भारतको रक्षा गरिरहेका बताउँदै नेता जोलीले ‘छिमेक पहिले’ नीति अन्तर्गत भारत सरकारले नेपालको समृद्धिलाई उच्च प्राथमिकता दिएको छ भन्नुभयो ।
पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले बहुआयामिक नेपाल( भारत सम्बन्ध पारस्परिक हित र चासोमा केन्द्रित गर्न आवश्यक भएको विचार व्यक्त गर्दै यसलाई अझ प्रगाढ एवं सुदृढ बनाउनुपर्ने बताउनुभयो ।
पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीले गरेको योगदानलाई नयाँदिल्लीले बिर्सननहुने भन्दै नेपाल र भारतबीचको अद्वितीय सम्बन्धलाई अझ सघन तुल्याउनुपर्छ भन्नुभयो ।
डा. रिजालले दुई देशबीचको सम्बन्ध रोटीबेटी नभइ ऊर्चा र पानीको सम्बन्ध भएको विचार व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष अरुणकुमार सुवेदीले नेपाल( भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै देशका जनस्तरका संस्था सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।