stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

काठमाडौँस्थित भारतीय राजदूतावासमा  २३ औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइयो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासमा शनिवार २३ औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइयो जसमा छात्रवृत्तिद्वारा समर्थित लगभग २०० विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

स्वर्ण जयन्ती छात्रवृत्ति दिवस समारोहको उपलक्ष्यमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा.देवराज अधिकारी; काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा.अच्युत वाग्ले; राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा.अमरप्रसाद यादव; पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.बिजु कुमार थपलिया; मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा.ध्रुव कुमार गौतम; बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी; र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलियाले उपस्थिति जनाउनु भएको थियो । कार्यक्रममा विभिन्न संस्थानका डीनहरू र प्रख्यात विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति रहेको थियो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरुलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गर्नुभयो । राजदूत श्री वास्तवले आफ्नो मन्तव्यमा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाको २३ औँ ब्याचका पुरस्कृतहरूका साथै राजदूतको रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई पनि बधाई दिनुभयो ।

उहाँले विद्यार्थीहरूलाई आ–आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न प्रोत्साहन गर्नुभयो र भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने संलग्नता मार्फत उपलब्ध हुने व्यापक अवसरहरूमाथि प्रकाश पार्नुभयो । भारत–नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको थियो ।

हाल सम्म छात्रवृत्ति प्राप्त गर्नेहरूको सङ्ख्या वार्षिक रूपमा २०० जना पुगेको छ । यस छात्रवृत्ति योजनाबाट नेपालका सबै ७७ जिल्लाबाट ३५०० जना भन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भएका छन् ।

अहिलेको ब्याचमा छात्रवृत्ति प्राप्त गर्नेहरू नेपालका ७५ जिल्लाबाट रहेका छन् जसमध्ये एक तिहाइ छात्राहरू रहेका छन् । यस वर्ष ०३ जना भिन्न क्षमता भएका विद्यार्थीहरू पनि छनोट भएका छन् ।

भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ, आयुर्वेद, नृत्य, रङ्गमञ्च र प्रदर्शन कला लगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई लगभग १,५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

यी छात्रवृत्तिहरूले विद्यार्थीहरूलाई भारतका शैक्षिक संस्थानहरूमा पहुँच प्रदान गर्दछ र उनीहरूलाई नेपालमा स्नातक कोर्सहरूका साथै स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरूमा शिक्षा हासिल गर्न सहयोग गर्दछ । सन् २००१ यता भारत सरकारको तर्फबाट नेपालका लागि भएका विभिन्न छात्रवृत्ति पहलहरूबाट लगभग ४०,००० विद्यार्थीहरू लाभान्वित भएका छन् ।

भारत र नेपालबिच रहेको शैक्षिक सहयोग, क्षमता निर्माण र शैक्षिक साझेदारीले दुई देशबिचको दिगो मित्रतालाई थप गहिरो बनाउनुका साथै नयाँ सम्बन्धहरूलाई प्रवर्द्धन गरी जनता–जनताबिचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको छ ।

छात्रवृत्ति र क्षमता निर्माण कार्यक्रमका पहलहरूले नेपालको प्रगति, ज्ञान र साझा समृद्धिको लागि मानव संसाधन विकासमा साझेदारी गर्ने भारतको प्रयासको अभिन्न अङ्गको रूपमा कार्य गरेको काठमाडौँ स्थित भारतीय दूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari