कानुनी निकायमा दर्ता प्रक्रियामा इनड्राइभ, उद्योग विभागमा आवेदन पेश
काठमाडौं । राइड सेयरिङ एप इनड्राइभर नेपालमा दर्ता गराउने प्रक्रियामा अघि बढेको छ । गत अक्टोबरमा नै विदेशी लगानी आवेदन उद्योग विभागमा बुझाएको कम्पनीकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
दर्ता प्रकृया अघि बढेपनि अपेक्षा गरेभन्दा धेरै समय लागेको पनि कम्पनीले स्वीकार गरेको छ । यस्तै कम्पनीले हालसम्म कुनै नाफा नकमाएको र सुरक्षा ब्यवस्था मैत्री एप भएको जनाएको छ ।
‘कम्पनीको रूपमा हामीले देशमा हाम्रा गतिविधिहरूबाट कुनै आम्दानी र नाफा कमाउँदैनौं। हामीले चालकबाट कुनै कमिसन लिदैनौँ।
यस बाहेक, इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको छ ।’
वक्तव्यमा उल्लेख गरिएको छ, ‘हाम्रो एपले आफैंमा सुरक्षा प्रवर्द्धन गर्ने सुविधाहरू पनि समावेश गर्दछ, जसमा स्थान–साझेदारी सुविधा र स्थानीय पुलिससँग सीधै जोडिनसक्ने गरी आपातकालीन कल बटन समावेश गरिएको छ।
हाम्रा चालकहरूलाई हाम्रा यात्रुहरूलाई सेवा प्रदान गर्न अनुमति दिनुअघि हाम्रो कोर टोलीले राम्ररी जाँच र प्रमाणीकरण गरेको छ ।’
पछिल्लो समय उक्त कम्पनी नेपालमा गैरकानुनी रूपमा संचालन भइरहेको भन्दै चौतर्फि विरोध भइरहँदा कम्पनीले यस्तो वक्तव्य जारी गरेको हो ।