शेयर कारोबार २५ गतेसम्म बन्द , शेयर सूचीकरण र सूचना अपटेड भने सञ्चालन

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा शेयर कारोबार लकडाउनको थप अवधि भर पनि बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चैत १० गतेदेखि पाँच कारोबार दिनको लागि बजार बन्द गरेको थियो ।
सरकारले आइतवार लकडाउनको अवधि चैत २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पनि कारोबार बन्द अवधि थप गर्ने जानकारी दिएको हो ।
नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सरकारले निर्धारण गरेको लकडाउन अवधिभर कारोबार बन्द हुने भएपनि अन्य गतिविधिलाई भने निरन्तरता दिने बताए ।
कारोबार बन्द भएपनि शेयर सूचीकरणको काम नरोकिने उनले जानकारी दिए । मंगलवार देखि नेप्सेको वेवसाइटमा कम्पनीहरुको सूचना सार्वजनिक गर्ने काम भने शुरु हुने साउदको भनाई छ ।
नेप्सेको कारोबार रोकिएपछि राफसाफ प्रकृया पनि रोकिएको छ । शेयर कारोबारको राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले चैत ११ गते सूचना जारी गरी लकडाउन अवधिभर राफसाफ गर्ने कार्य स्थगित गरिएको जानकारी दिएको छ ।
नेप्सेले पहिलो चरणमा तय गरेको बजार बन्दको मिति सोमवार (आज) सकिदै थियो ।
बोर्डले आवश्यक परे कारोबार थप अवधि कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिइसेकेको अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । बोर्डले आफ्नो अधिकार प्रयोग गरी पाँच दिन बन्द गर्न निर्देशन दिईसकेको छ अवको निर्णय नेप्सेको हातमा छ उनले भने हामीलाई जानकारी दिएर नेप्सेले बजार बन्द गर्न सक्छ ।
अहिलेको अवस्थामा बजार बन्द गर्नुमै लगानीकर्ताको हित हुने अध्यक्ष ढुङ्गानाको भनाई छ । यसअघि मंगलवारदेखि बजार खुल्ने अनुमान गर्दै पाँच वटै लगानीकर्ता संघहरुले विरोध जनाएका थिए ।
अनलाईन कारोबारलाई आधार बनाएर बजार खुला गरे ९९ प्रतिशत अनलाईनमा आवद्ध नभएका लगानीकर्ताहरुमा अन्याय हुने शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको भनाइ छ ।
आम लगानीकर्ताहरुले बजार बन्द गर्नुपर्ने माग गरिरहदा बजार निर्माता तथा नियामक निकायको बजार बन्द गर्ने निर्णय सहि भएको लगानीकर्ताहरुको तर्क छ ।