सेयर बजारप्रति सबैको चिन्ता, नयाँ बर्षसँगै सबैमा हरियाली छाएको छ
काठमाडौ । साताको पहिलो दिन हिजो पुस १८ गते आइतबार सेयर बजारमा हरियाली छाएको छ। योसँगै बजारमा नयाँ वर्ष २०२२ लाई हरिया कार्पेट बिच्छ्याएर गतिलो स्वागत गरेको रूपमा लगानीकर्ताहरूले लिएका छन।
बजार हिजो ६०.४१ अंकले उकालो लागेको थियो। योसँगै नेप्से परिसूचक २५८४.९१ को विन्दुमा उक्लिएको थियो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.७७ अंकले बढेर ४८२.०१ को विन्दुमा पुगेको थियो। हिजो सवा ४ अर्ब रुपैयाँब राबरको कारोबार भएको थियो।
बजार जानकारहरू भन्छन– हिजोको सेयर बढाइले बजारमा करेक्सन सकिएको भनेर बुझ्न सकिन्छ। बजार अहिले धेरै फराकिलो भएकोले यसको शक्ति पनि ठूलै छ।
अब नकारात्मक केही छैन, बजार सकारात्मक नै भएकाले २८०० विन्दुसम्म जान सक्छ। सेयर बजार बुलिस नै रहेको छ। नयाँ वर्षमा नयाँ उमंग पनि देखिएको छ ।
सक्रिय लगानीकर्ता भन्छन( बास्तवमा हिजोको सेयर बढाइको दिगोपनका बारेमा अझै केही दिन बजारको चाल हेरेपछि मात्र थाहा हुन्छ। धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन र थिए। तर हिजो बजारमा एकाएक हरियाली छायो। सायद नयाँ वर्षमा लगानीकर्तामा नयाँ उमंग आएको हुन सक्छ।
आउँदो माघ महिनाबाट सेयर धितो कर्जामा केही सहज अवस्था हुने भएकोले निष्क्रिय रुपमा बसेका केही ठूला लगानीकर्ता सक्रिय भएको हुन सक्ने अनुमान छ।
हिजो नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको थियो भने एउटामात्रै रातो पोतिएको थियो। हिजो उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ५.०८ प्रतिशतले उकालो लागेको थियो। निर्जीवन बीमा ३.५४ प्रतिशतले बढेको थियो।
हिजो बैंकिङ समूहमा १.९९ प्रतिशत, विकास बैंक समूहमा ३.४२ प्रतिशत, वित्त समूहमा ०.६२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४ प्रतिशत, जलविद्युत समूहमा १.७ प्रतिशत, लगानी समूहमा २.१७ प्रतिशत, जीवन बीमा समूहमा २.४२ प्रतिशत, लघुवित्त समूहमा २.८८ प्रतिशत, अन्य समूहमा २.३ प्रतिशत र व्यापार समूहमा ०.७४ प्रतिशतले बढोत्तरी भएको थियो। यसैगरि हिजो म्युचुअल फन्ड समूह ०.३९ प्रतिशतले ओरालो लागेको थियो।
धेरै कारोबार गर्ने कम्पनीहरु:
हिजो नेप्सेमा सूचीकृतमध्ये २४० कम्पनीका ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँमा किनबेच भएका छन्।
हिजो हिमालयन डिस्टिलरीको सर्वाधिक ४४ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको थियो। नबिल बैंकको पनि २९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
हिजो शिवम सिमेन्टको २३ करोड ४९ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १८ करोड ९२ लाख रुपैयाँ, अपी पावरको १७ करोड ३७ लाख रुपैयाँ, नेपाल टेलिकमको १० करोड ३८ लाख रुपैयाँ, ङादी ग्रुपको ७ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ४७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ६ करोड ८१ लाख रुपैयाँ र सीआईटीको ६ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:
हिजो हिमालयन डिस्टिलरी र मध्य भोटेकोशीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको थियो। सूर्या लाइफ इन्स्योरेन्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको थियो।
हिजो गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाउन पुगेका थिए। यो कम्पनीको सेयर भाउ ५ प्रतिशत बढीले ओरालो लागेको थियो।






















