यो साताको सेयर बजार उत्साहजनक
काठमाडौं । यो साता सेयर बजारमा चार दिन कारोबार भयो। जसमा तीन दिन बजार बढ्यो भने एक दिन घट्यो। साताको पहिलो कारोबार दिन गत सोमबार बजारमा करिब १८ अंकले गिरावट आयो। केही सकारात्मक समाचारसँगै बजार गत मंगलबारबाट पुनः उकालो लाग्न थालेको थियो। बजारको उकालो यात्राले साताको अन्तिम कारोबार दिन हिजो बिहीबारसम्म निरन्तरता पाएको छ।
यो साताभरि सेयर बजारमा झन्डै १४४ अंकको बढोत्तरी भएको छ। यो साताभरि १४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यो साता गत सोमबार र मंगलबार दैनिक २।५ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको थियो। यसलाई भोलुम हराउँदै गएको विश्लेषण पनि गरिएको थियो। तर गत बुधबार र बिहीबार क्रमशः ४.५ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। यसले अब सेयर बजारमा फेरि रौनक आउन थालेको भनेर चर्चा पनि गर्न थालिएको छ।
अहिले बजार नेप्से २५०० भन्दा माथि रहेकोले लगानीकर्ताको मनोबाल उच्च बन्दै गएको छ। हिजो सेयर बजार इन्ट्राडे करेक्सन बजार झन मजबुत बनेको छ।
बजारमा हालको न्यून विन्दु २३५८ नै अन्तिम तल्लो विन्दु रहेको पनि विश्लेषण गर्न थालिएको छ। आगामी साता पनि सेयर बजार करेक्सन हुँदै माथि जाने सम्भावना रहेको बजार विश्लेषकहरु बताउँछन्






















