लक्ष्मी बैंकको एजीएमबाट ११.५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी रु. ११.५५ अर्ब पुग्यो
काठमाडौं। आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै लक्ष्मी बैंक लिमिटेडको २१ औ वार्षिक साधारण सभा हिजो सम्पन्न गरेको छ।
काठमाडौंमा सम्पन्न सभाले बैंकको चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बोनस सेयर पारितसँगै बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको जनाएको छ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ।
आर्थिक वर्ष २०७७/७८ मा ११७ अर्ब रुपैयाँ निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पुर्याएको बैंकको वासलातको आकार १५२ अर्ब रुपैयाँको रहेको छ। गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो।






















