stcnepal long ad
global ime bank long

शेयर बजारमा माफियाको चलखेल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गत असोज ३१ गते केही मिडियाहरु कार्तिक १ गतेबाट बैंकको ब्याजदर घट्ने, अमूक बैंकले घटाएको समाचार बाहिर पस्कदै थिए । उता शेयर बजारमा माफियाहरु शेयर बिक्री गर्न तल्लिन थिए । मिडिया केन्टेन्ट र माफियाको ट्युनिङ अनुसार अपरान्ह १ बजेसम्म बजार ह्वात्तै बढ्यो, माफियाहरु बचेखुचेका शेयरहरु भटाभट बिक्री गर्न भ्याए ।

गत असोज ३१ गते आइतबार अपरान्ह देखि सबै बैंकका सिईओहरुको बैठक बसेर ऋणको ब्याजदर बृद्धि गरेपनि कम्तीमा सिंगल डिजिटमा कायम राख्ने बारे छलफल गरिरहेका थिए । उता शेयर बजारमा भने ब्याजदर घट्ने भन्दै सोझा साझा लगानीकर्ताहरुलाई मुर्गा बनाईदै थियो ।

नेपाली शेयर बजारमा यो नयाँ घट्ना भने थिएन । गत वर्ष शेयर मूल्य बृद्धि गर्दादेखि नै यही तरिका अपनाइएको थियो । शेयर बजारमा माफिया र साना लगानीका मिडियाहरु मिलेर रचना गरिएको गेम प्लानले कम्पनीहरुको उत्पादकत्व बृद्धि बिना नै शेयर मूल्य कैयौं गुणा बृद्धि गरिएको थियो ।

अकारण बृद्धि गरिएको शेयरको मूल्य अकारण घट्नु स्वाभाविक नै थियो । शेयर बजारको मूल्य घट्ने र बढ्ने नियमित प्रक्रिया हो । तर, सरकारले शेयरको मूल्य निर्धारणको स्वतन्त्रतालाई कायम राख्न नसक्दा नेपाली शेयर बजारले अहिलेको दुर्नियत भोग्नु परेको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ ।

शेयर बजारमा मूल्य घट्छ, सांसददेखि मन्त्री सम्मले कमेन्ट गर्ने, बढाउनु पर्यो भन्दै लविङ गर्ने अनि मूल्य घट्दा कर्मचारीमाथि दोष थोपर्ने पद्धतिका कारण नेपाली शेयर बजार अझै केही वर्ष परिपक्व बन्न नसक्ने देखिएको छ ।

शेयर बजारलाई प्रभावित पार्ने काम देशको अर्थतन्त्रले पनि गर्ने गर्दछ । हिजोको दिनमा बैंकमा तरलता थुप्रियो, चोरबाटोबाट बैंकहरुले शेयर बजारका माफियाहरुलाई पैसा दिए, त्यही पैसाले शेयर बजार उफार्नु उफार्यो, आज तरलता अभाव छ । पैसा छैन, ऋणमाथि सीमा लगाउनु केन्द्रीय बैंकको कर्तव्य थियो, त्यही विषयमा टेकेर चौतर्फी निहुँ खोज्दैछन् ।

यथार्थमा केही ठूला माफियाहरुले आफूसँग भएको सबै शेयर बिक्री गरेर अर्बौ रुपैयाँ थुपारिसकेका छन् । अब उनीहरु फेरि शेयर किन्न चाहन्छन् । अब उनीहरुले थुपारेको अर्बौ रुपैयाँको शेयर किन्नको लागि मूल्य घटाइदैछ । शेयर बजारमा नियमित चल्ने प्रक्रिया हुन् यी ।

जुवाको खाल जस्तै शेयर बजारलाई लगानीको सुरक्षित क्षेत्र भन्दै हण्डी खाएर प्रचार गर्ने मिडिया, हुनै नसक्ने कुरा, चर्चा गर्नै नपाइने विषयमा चर्चा गराउने मिडिया, माफियाको डिजाइनमा शेयरको मूल्य घटबढ गराउन सक्रिय मिडिया पनि अहिलेको यो अवस्थाप्रति जिम्मेवार छन् ।

शेयर बजारको विषयमा अनावश्यक चर्चा गर्ने, शेयरको मूल्य घटबढ हुन्छ भनेर पूर्वानुमान लगाउने, बाजी थाप्न प्रेरित गर्ने कार्यका कारण आज लाखौं सोझा लगानीकर्ताहरु फस्न पुगेका छन् । यसबाट सबैभन्दा धेरै नव प्रवेशी लगानीकर्ताहरु तथा विदेशमा रगत पसिना बगाउँदै आएका नेपालीहरु फस्न पुगेका छन् ।

सरकारले सक्छ भने स्वतन्त्र छानविन समिति बनाएर शेयर बजारमा अनावश्यक रुपमा इक्जेट गरेर बेलुन जसरी फुलाउने पूर्ववर्ती विष्णु पौडेलको पालादेखिको चलखेलको छानविन गर्न आवश्यक छ । साथै अहिले घटिरहेको शेयर कारोबारको सुक्ष्म विश्लेषण गरी कर्नरिङ गरी घटाउने कार्य भए–नभएकोबारे अध्ययन गर्न जरुरी छ ।

शेयर बजारमा प्रवेश गर्न चाहने, नव प्रवेशी तथा विदेशमा रहेका लगानीकर्ताहरुलाई शेयर बजारमा लगानी गर्नुपूर्व शेयर बिक्री गर्ने विषयको पर्याप्त ज्ञान नभई प्रवेश नगर्न सुझाव दिइयो भने आगामी दिनमा नयाँ लगानीकर्ताहरु फस्नबाट बच्ने थिए कि ?

IME Lifesidebar
kumari